बजारमा चिनीको हाहाकार छ भन्ने हल्ला निराधार हो : प्रबन्धक झा


 


काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बजारमा चिनीको हाहाकार छ भन्ने हल्ला निराधार भएको जनाएको छ ।
साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले चिनी प्रयाप्त मात्रमा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बजारमा चिनीको हाहाकार छ भन्ने हल्लामा कुनै सत्यता छैन, हामीसँग प्रयाप्त मात्रमा चिनी छ, जुन दैनिक रुपमा व्यापारीहरुले किनेर सहज रुपमा बिक्री बितरण गरिरहेका छन्।’

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई २० बोरासम्म चिनी बिक्री वितरणका लागि उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।

उहाँले भन्नुभयो, ‘साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि खुद्रा व्यापारीलाई २० बोरासम्म चिनी बिक्री वितरणका लागि उपलब्ध गराउँदै आएको छ।’

उनले अहिलेसम्म ४ सय ५० जना व्यापारीले चिनी बिक्री वितरणका लागि किनेर लागेको बताए । उनले भन्नुभयो,’जो सुकै व्यापारीले पसल दर्ताको कागजातसहित साल्ट ट्रेडिङ आएर चिनी खरिद गर्न सक्छ।’

साल्ट ट्रेडिङका विभागीय प्रबन्धक झाले ५ हजारभन्दा बढी बोरा चिनी बिक्री भइसकेको जानकारी दिनुभयो । साल्ट ट्रेडिङले व्यापारीहरुलाई १ सय १२ रुपैयाँ ५० पैसा प्रति किलोको दरले चिनी बिक्री गर्दै आएको छ ।

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो ।

यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्