सहायक हवल्दारद्वारा प्रहरी जवानलाई गोली हानी हत्या


 


दाङ । दाङमा ड्युटीमा खटिएकी महिला प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार गर्ने प्रहरी सहायक हवलदार पक्राउ परेका छन् ।

दाङको घोराही स्थित दामोदर चोकमा ड्युटीमा रहेकी धनमायाको बिहीबार राति उनकै श्रीमान् यामबहादुर झाँक्रीले गोली हानेर हत्या गरेका थिए ।

प्रहरी कार्यालय घोराहीका अनुसार झाँक्रीलाई अर्जुन खोलाबाट नियन्त्रणमा लिइएको हो । गोली प्रहार पश्चात् घटनास्थलबाट फरार भएका उनलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको टोलीले लमहीकै अर्जुन खोलाबाट पक्राउ गरेको हो ।

यमबहादुरको साथबाट लोड रहेको बेरेटा-एमएम पेस्तोल नाल १, त्यसैको म्यागेजिन थान १ र गोली राउन्ड ७ समेत नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतको पञ्चापुरी-९ विद्यापुर घर भई दाङको घोराहीमा कार्यरत प्रहरी जवान धनमाया वर्ष २६ की थिइन् । उनको हत्या गर्ने प्युठानको नौबहीनी-४ खवाङ घर भएका धनमायाका श्रीमान् प्रहरी सहायक हवलदार यामबहादुर भने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा कार्यरत थिए ।

उनले भे १२५ ११५० नम्बरको पल्सर २२० मोटरसाइकलमा आएर गोली प्रहार गरेका थिए । तत्काल उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पुर्‍याइ उपचार गर्दागर्दै डाक्टरले धनमायालाई मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्