इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा अप्रत्यासित मतपरिणाम, ठूला दल पछारिए


 


फिक्कल, वैशाख १७ । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि हुनुहुन्छ । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले छ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित हुनुहुन्छ । 

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गर्नुभयो । रास्वपाका लिम्बूले तीन मत पाउनुभयो । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आउनुभएको छ ।    अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ । 

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्