सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने


 


धनगढी, वैशाख १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते (शुक्रबार) विश्वासको मत लिने भएका छन् ।

मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए ।

बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सरकारमा अहिले एमाले र माओबादी केन्द्र सहभागी भएको छैन । यी दुई पार्टीले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्