सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस


 


काठमाडौं, वैशाख १८ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा.डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो ।

समितिले १२ वैशाखमा उम्मेदवारहरुको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्र्तवार्ता परीक्षा सञ्चालन गरेको थियो ।

सोही परीक्षामा पाएको अंकका आधारमा योग्यताक्रम अनुसार नाम सिफारिस गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिका संयोजक विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि प्रा.डा. अक्कल देव मिश्र, प्रा.डा.तारादत्त भट्ट, प्रा.डा. धु्रवकुमार गौतम, प्रा.डा.पदमराज जोशी, प्रा.डा.पूर्णबहादुर चन्दले आवेदन दिएका थिए । त्यस्तैगरी प्रा.डा.भवानीदत्त जोशी, प्रा.यज्ञराज पाठक, प्रा.यज्ञराज भट्ट, प्रा.राजेशकुमार ठगुराठी र प्रा.डा.हेमराज पन्तले पनि आवेदन दिएका थिए ।

यसअघि सिफारिस समितिले बनाएको मापदण्ड कडा भएको भन्दै विरोध भएपछि समितिले ६ फागुनमा दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरेको थियो ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्