सहभागीलाई स्वकेन्द्रीत गराउँदै ‘बोध विज्ञान’ सम्पन्न


 


काठमाडौं २२ बैशाख । सहभागीलाई स्वबोध गराउँदै एकसाता लामो साधनामुखी कार्यक्रम बोध विज्ञान शनिबार सम्पन्न भएको छ ।
जीवन विज्ञानको आयोजनामा बैशाख १६ गतेदेखि काठमाडौंको बानेश्वरमा सुरु ध्यान साधनाको यस कार्यक्रममा जीवन विकास विशेषज्ञ श्रद्धेय रमेश नेपाल र एल पि भानु शर्माले मानिसलाई आफुतर्फ फर्कन अध्यात्मका वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराउँनुभयो ।
विशेषज्ञद्वयले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफुतर्फ फर्कने र आफ्नो क्षमताको पहिचान गर्ने प्रयोग र अभ्यास गराउनुभयो । उहाँहरूले मानिसको जीवनमा सकारातमक परिवर्तन र सिर्जनात्मक सोचका लागि मानिसले अपनाउनु पर्ने नवब्रतको पालना र त्यसले मानिसको जीवनमा ल्याउने परिवर्तनको अभ्यास समेत गराउनुभयो ।
५ सयजना भन्दाबढी सहभागी रहेको कार्यक्रमबाट आफ्नो जीवनको सोच्ने शैली नै परिवर्तन भएको कार्यक्रममा सहभागीले बताएका छन् । सुनसरीको बराहक्षेत्रका शिक्षक विदुर भट्टराईले बोध विज्ञानले ज्ञानको क्षेत्र फराकिलो बनाएको बताउनुभयो । उहाँले आफुले बढ्दै र पढाउँदै आएको ज्ञानको क्षेत्र साधुरो भएको महसुस गरेको र स्वअध्ययनलाई बढाउनुपर्ने अनुभूति भएको बताउनु भयो ।
बुटवलबाट सहभागी व्यवसायी दिलु शर्मा घिमिरेले सातदिनको कार्यक्रममा आफुभित्रको अहंकार हराउँदै गएको महसुस भएको बताउनुभयो । उहाँले आफ्नो स्वाथ्यमा समेत सुधार आउँदै शारीरिक कमजोरीपनि हटेको अनुभूति भएको बताउनुभयो । इटहरीबाट सहभागी पूर्वबैङ्कर नवराज ढकालले समस्या अरुमा नभएर आफुमा भएको महसुस गरेको बताउँदै बोध विज्ञानबाट समस्या समाधानको लागि आफु परिवर्तन हुनुपर्ने रहेछ भन्ने बोध भएको बताए । अरुलाई दोष देखाएर समस्याबाट पन्छिन नहुने रहेछ भन्ने महसुस भएको ढकालको भनाइ छ ।
भरतपुर महानगरपालिका वडा नं. १८ की वडा सदस्य लक्ष्मी अधिकारीले बोध विज्ञानले लक्ष्यसँग एकाकार गराएको बताउँनु भयो । उहाँले सबैलाई आध्यात्मिक ज्ञान दिनसके देशमा सुशासन आउने र नागरिकले सजिलै सेवा पाउने अवस्था बन्ने रहेछ भन्ने महसुस भएको बताउनुभयो ।
बनेपाको नैनी सारण्य गुरुकुलम संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणी कुइकेलले जीवन रुपन्तरणको विधि बोध विज्ञानले दिएको बताउँदै आफुले पाएको ज्ञान अरुपमा बाढ्नु पर्ने बोध भएको बताउनुभयो ।
कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवासायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी भएका छन् । भोलि आइतबारदेखि साधनाको अर्को चरणको कार्यक्रम ‘लय विज्ञान’ सुरु हुदैछ ।

प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्