अदालतभित्रै श्रीमतीमाथि निर्घात कुटपिट


 


तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमान्‌ले श्रीमतीमाथि कुटपिट गरेका छन् । सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवामाथि कुटपिट गरेका हुन् ।

उनीहरू सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत पुगेका थिए । न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो ।

तर, न्यायाधीशसमक्ष उपस्थित नहुँदै उनले सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ । दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए ।

हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेँसीकी मनसुवाबीच ६ वर्षपहिले विवाह भएको थियो । श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् ।

उनीहरूको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो । रासस

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्