गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वास मतविरूद्ध कांग्रेस सर्वोच्चमा


 


काठमाडौं, वैशाख २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ ।

कांग्रेस गण्डकी संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा मंगलबार रिट दिएका हुन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्ण धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेका थिए ।

नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायतको आदेशका लागि भन्दै कांग्रेसले सर्वोच्चमा रिट दिइएको गण्डकी प्रदेश कांग्रेसका सांसद डिल्लीराम सुवेदीले जानकारी दिए ।

रिटमा सभामुख धिताल, मुख्यमन्त्री अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ । सर्वोच्चले यस रिटमा वैशाख २७ गतेका लागि पेशी तोकेको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्