‘प्रकाश दिवस’मा विशेष उत्सव


 


काठमाडौं २५ बैशाख । जीवन विज्ञानको आयोजनामा जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक एल पि भानु शर्माको प्रकाश दिवस बैशाख २५ गते विशेष उत्सव गरी मनाइएको छ ।
बानेश्वर स्थित आनन्द इमेन्टस्मा ज्ञान, ध्यान र सङ्कीर्तन गरी उत्सव मनाइएको हो ।


उत्सव सम्बोधन गर्दै शर्माले देशले आध्यात्मिकतालाई नै समृद्धिको बाटो बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो आधार आध्यामिकता हो । दशौ हजार वर्षदेखि हाम्रा पूर्खाहरूले खोजी गरेर दिएको अध्यात्मको ज्ञान हामीसँग छ ।’ यही बाटोबाट समृद्धिको यात्रा गर्नुपर्ने बताउँदै उहाँले थप्नुभयो ‘हामी आफ्नै बाटोबाट समृद्ध हुन्छौ । हामीले प्रकाशको बाटोबाट समृद्धिमा जानु पर्छ । त्यो प्रकाश हरेक व्यक्तिसँग छ । त्यसलाई संसारभर पु¥याएर देश समृद्ध बनाउनु पर्छ ।’


जीवन विकास विशेषज्ञ तथा जीवन विज्ञानका अर्का संस्थापक रमेश नेपालले मानिस सुख, शान्ति र आनन्दको अनुभूतिका लागि कर्म गर्ने बताउँदै अनुभूति नै इश्वरसँग पुग्ने बाटो भएको बताउनुभयो । तिनै अनुभूति गर्दै जाँदा परम अनुभूति हुने इश्वर साक्षात्कार हुने उहाँको भनाइ छ । ‘जोसँग मोक्ष, मुक्ति, समानता स्वतन्त्रता निर्भर छन् उसको कान्तिसँग, आभासँग, परम प्रकाशसँग लयबद्ध भएको दिन प्रकास दिवस हो’ उहाँले स्पष्ट पार्नुभयो ।


उत्सवलाई भजन गायक धर्मदास बुढाथोकी र शशांक सापकोटाको समुहले वाद्यवाधन सहितको प्रस्तुतिले सङ्गीतमय बनाए । विद्योदय स्कुलका विद्यार्थीहरूले स्वागत नृत्य गरे भने स्वर्णिमा शाक्य, कृतिका खतिवडा र सुधिका बज्राचार्यले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन दिलाए ।


कैलास श्रेष्ठ र प्रतिक्षा न्यौपानेले जीवन विज्ञानका कार्यक्रमले आ–आफ्नो जीवनमा ल्याएको परिवर्तनका बारेमा अनुभव सुनाउनु भएको थियो ।


विभिन्न क्षेत्रका एकहजार पाँच सयबढीको सहभागीता रहेको कार्यक्रम समापनपछि साँझमा दीप प्रज्वलन गरिएको थियो ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्