२ सय १८ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ


 


काठमाडौं, वैशाख २७ । मोरङ, जहदा गाउँपालिका–३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा २ सय १८ किलोसहित सोही ठाउँ बस्ने ३४ वर्षीय भगवान किस्कुलाई प्रहरीले बुधबारराति पक्राउ गरेको छ ।

उक्त ठाउँस्थित मकै बारीमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मकै बारीभित्र रहेको टहारामा किस्कुले उक्त परिमाणको गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै पर्साको कालिकामाई गाउँपालिका–३ हरीहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महत्तो केवटलाई अवैध लागूऔषध गाँजा ५ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

केवटले आफ्नै गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्