भ्रष्टाचार आरोपमा जलेश्वरका नगरप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्दा दायर


 


काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहिन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जलेश्वर नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चालित योजनामा वास्तविक भए गरेको कामभन्दा बढी कार्य गरेको भनी नक्कली विवरण खडा गरेर भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगले नगर प्रमुख सोनारविरुद्ध रु पाँच लाख ८४ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । 

यस्तै आयोगले जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धीरेन्द्र झाविरुद्ध पनि समान बिगो माग दाबी गरेको छ । नगरपालिकाका वरिष्ठ इञ्जिनियर पवनकुमार झा, इञ्जिनियर राकेशकुमार चौधरी र सवइञ्जिनियर दिपेशकुमार साहविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ । 

आयोगले नगरपालिकाका उपप्रमुख रौशन खातुन, सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिका–१ का वडाध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध पनि समान बिगो बराबरको माग दाबी गरिएको छ । आयोगले कसुरअनुसार, कारबाहीको माग दाबी गर्दै आज मुद्दा दर्ता गरेको प्रवक्ता  घिमिरेले जानकारी दिनुभयो । 

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्