सेवाअवधि पूरा गरी जर्मन राजदूत मायर मोटर हाँकेर घर फर्कँदै


 


काठमाडौँ, जेठ २४

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै हुनुहुन्छ ।

आफ्नो ३७ वर्षे कूटनीतिक सेवाबाट आगामी शनिबार निवृत्त हुन लाग्नुभएका नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत माथियस मायर यही जेठ २८ गते सखारै ज्ञानेश्वरस्थित दूतावासबाट मित्सुबिसी मोटर हाँकेर महाकाली अञ्चलको महेन्द्रनगरतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

जेठ २९ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले उहाँलाई बिदाइ गरेपछि राजदूत मायर नेपाल र नेपालीलाई सुखद स्मृतिको गर्भमा राखेर भारत–पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्नुहुनेछ । “करिब आठ साता लामो यात्रामा फगत एकजना सहयोगीका साथ म गृहनगर हेम्बर्गतर्फ लाग्दैछु, केही घण्टाको हवाई यात्राभन्दा स्थलमार्गबाट घर फर्कन लागेको हु” आज बिहान आफ्नै निवासमा कूटनीतिक मामिलामा कलम चलाउने केही पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

“कूटनीतिक सेवाबाट निवृत्त भएपछि म एक स्वतन्त्र नागरिक हुँ, मेरो निर्णयबाट मेरो देशको सरकार र नेपाल सरकारमात्र होइन मैले यात्रा गर्ने विभिन्न मुलुकका सरकार पनि आश्चर्यचकित भएका छन्,” आफ्नो साहसिक यात्रा र स्थलमार्गबाट यात्रा गर्दाका रोमाञ्चबारे सुनाउँदै उहाँले भन्नुभयो ।

विश्वको भूगोल र प्रकृतिलाई नियाल्दै हिँड्न आफूलाई परमानन्द प्राप्त हुने बताउँदै उहाँले अनुपम सौन्दर्यको खानी नेपालको मुस्ताङको पनि आफूले धेरैपटक यात्रा गरेको स्मरण सुनाउनुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार आजसम्म कुनै पनि राजदूत सेवाअवधि सकेर स्थलमार्गबाट घर फर्केका छैनन् । “राजदूत मायर आफैं मोटर हाँकेर जर्मनी फर्कने जानकारी मन्त्रालयलाई प्राप्त भएको छ, हामी पनि उहाँको साहसिक यात्राको खबर सुनेर अचम्भित भएका छौँ, शुक्रबार उहाँको बिदाइ हुन्छ,” प्रचलित कूटनीतिक अभ्यासअनुरुप उहाँलाई बिदाइ गरेपछि स्वतन्त्र नागरिकका रुपमा राजदूतले आफू खुसी यात्रा गर्नसक्ने बताउँदै शिष्टाचार महापाल दीपक अधिकारीले भन्नुभयो । नेपाल सरकारले नेपाली भूमिमा रहेसम्म राजदूतलाई आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

नेपालमा रहँदा आफूलाई नेपाल सरकार, कर्मचारी प्रशासन, राजनीतिक दल, सञ्चारकर्मी, निजी क्षेत्रका उद्यमी–व्यवसायी, नागरिकलगायत सबैबाट सहयोग प्राप्त भएकामा सन्तोष प्रकट गर्नुहुने उहाँले नेपालीहरुको अतिथि सत्कार, यहाँको सांस्कृतिक विविधता, दालभात र मोमो, मुस्ताङ अनि लुम्बिनी तथा नेपालका अनेकौं पदयात्रा आफ्नो मानसपटलमा सधैं रहिरहने तथा तिनबाट आफू अत्यन्त प्रभावित भएको बताउनुहुन्छ ।

तीन वर्षमा चारजना प्रधानमन्त्रीलाई स्वागत गर्न पाउनु राजनीतिक रुपमा आफ्ना लागि अलि नौलो विषय भए पनि नेपाल क्रमशः राजनीतिक स्थायित्वतर्फ उन्मुख भएकामा उहाँ सन्तुष्ट देखिनुहुन्छ ।

मानिसको काबु बाहिरको परिस्थिति भूकम्पबाहेक नेपालसँगका कुनै तीता सम्झना आफूसँग नरहेको बताउनुहुने राजदूत मायर नेपालको भविष्य उज्ज्वल देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “एसियाली मुलुककै उत्कुष्ट संविधान प्रगतिशील छ, त्यसको कार्यान्वयनको पहिलोचरण स्थानीय तह निर्वाचनले प्रतिबिम्बित गरिसकेको छ । नेपाल अग्रगमनतर्फ उन्मुख भएको छ, म यहाँको द्रुत विकास हुनेमा आशावादी छु ।”

चीनले अघि सारेको ‘एक मार्ग एक क्षेत्र’ (ओबर) परियोजनामा नेपालले हस्ताक्षर गर्नुलाई उहाँ सकारात्मक कदमको संज्ञा दिनुहुन्छ । उक्त परियोजना पूरा हुँदा नेपाली उत्पादन सहजरुपमा जर्मनी पुग्ने र यहाँको व्यापार व्यवसायमा वृद्धि हुने उहाँको विश्लेषण छ ।

नेपालको सामाजिक–आर्थिक विकास प्रयास र नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका आयोजनामा जर्मनीको निरन्तर साथ, सहयोग र समर्थन रहने बताउँदै उहाँ चीन र भारतको विकासबाट लाभान्वित हुन नेपालले सुझबुझपूर्ण रुपमा सन्तुलित ढङ्गले काम गर्नुपर्ने ठान्नुहुन्छ ।

भूकम्पपछि जर्मनीले तीन करोड ८० लाख युरो उपलब्ध गराएको थियो । दुई देशबीच आर्थिक सहयोगका आयामहरु अझ विस्तार हुने प्रशस्त संभावना रहेको उहाँ बताउनुहुन्छ ।

घर फर्कनुअघि राजदूत मायरले आगामी शुक्रबार अर्थ मन्त्रालयमा नेपाल–जर्मनी आर्थिक सहयोगसम्बन्धी वित्तीय व्यवस्थापनका विविध आयाम समेटिएको द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्