सामूहिक बलात्कार गरी महिलाको हत्या गर्ने तीन जना पक्राउ



गौशाला, साउन ५

महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षीय जिवरुल राइन कवारी र भंगहा गाउँपालिका–९ बस्ने ललित दासकी पत्नी ३७ वर्षीया अमृतादेवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।

पक्राउ परेका तीनैजनाले पाँच÷छ जनाको समूहमा भंगहा गाउँपालिका–९ बस्ने लक्ष्मण दासकी पत्नी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते राति ११ बजेको समयमा उनी आफ्नो घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर ढोका खोल्ने बित्तिकै मुख नाक बन्द गरेर घरभन्दा ४०० मिटर उत्तर खेतमा लगी चार÷पाँच जनाले सामूहिक बलात्कार गरी उनको हत्या गरेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो ।

चरम गरिबीका कारण विगत १५ वर्षदेखि पति लक्ष्मण दास वैदेशिक रोजगारीमा रहेका शिलादेवी दास छोरा बुहारीसँग घरमा सुतिरहेको अवस्थामा उनलाई अभियुक्त अमृता देवीले घरबाट बाहिर बोलाइकी थिइन् भने चार÷पाँच जनाले उनको दुवै हात, खुट्टा बाँधेर पालैपालो बलात्कार गरेर उनलाई टाउकोमा इँटाले हानेर हत्या गरी फालिदिएको अवस्थामा प्रहरीले वैशाख २० गते बिहान ७ बजे उनकै बारीमा फेला पारेको थियो ।

पक्राउ परेका वरुणकुमार यादव र अमृतादेवी दासबीच अनैतिक शारीरिक सम्बन्ध रहेको र सो सम्बन्धबारे शिलाले जानकारी पाएपछि उनलाई दुवै जनाले रु १० हजार तिरेर भाडामा जिवरुल राईनलगायत अन्य चार÷पाँच जना व्यक्तिलाई बोलाएर दुवै जनाले शिलाको सामूहिक बलात्कारपछि हत्या गराएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

घटना घटेको तीन महिनाभन्दा बढी भइसक्दा पनि गाउँमै बसिरहेका तीनैजनालाई प्रहरीले निक्कै ठूलो अनुसन्धानपछि मङ्गलबार पक्राउ गर्न सफल भएको हो भने यस घटनामा संलग्न अन्यको खोजतलाश भइरहेको र चाँडै समातिने प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो ।

प्रहरीले तीनै जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइसकेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News