‘जिम्माल जेठा माङ् मा गएन’



दिलिप बान्तावा

तीन जना श्रीमतीबाट लगातार सात बहिनी छोरी जन्मिएर नि निराश नभएका जिम्माल बुढाले आफुभन्दा २२ बर्ष कान्छी बुङ्छ्याङ्मालाई ल्याएका थिए ।

हतुवा क्षेत्रका नामुद र जहानियाँ जिम्मालको जिम्मा पाएका ढिसङ्हाङ्गका छोरा बालिहाङ्ग राँके बजार जाँदा आमचोककि बुङ्छ्याङ्मा राम्री लाग्यो, दिनभर हतुवालिहरु जमेर उनकैमा जाँड र उसिनेको आलु, कटहर खाए, उनलाई फकाए तर पार लागेन ।

अन्तिममा हात समात्न खोजे, बुङ्छ्याङ्माले पनि पटुकिमा सिउरेको छिर्लिङ्गे खुर्पा निकालेर छोपिन् । तर संयोग, बालिहाङ्गले च्याप्प पाखुरा समातेर काँधमा चढाईहाले ।

हतुवालिहरु पछि लागे, बुढाले नयाँ बेहुलिलाई निक्कै तलसम्म काँधैबाट झारे। समसाँझतिर घर पुर्‍याए । पर्सिपल्ट ढिसङ्हाङ्ग एक जना बुढ्यौलिलाई लिएर देवल पुर्‍याउन आफै आमचोक लागे ।

किनकी पहिला देखि नै आमचोकसितको सम्बन्ध अलि धमिलो थियो । त्यो बेला देखि सम्बन्ध बलियो बनेर आयो । त्यसको डेढ बर्षपछी जेठो जिम्माल अर्थात नाम्नुहाङ्ग जन्म्यो ।

नाम्नुहाङ्ग बर्षदिनको हुँदै गर्दा ढिसङ्हाङ्ग परलोक भए, अब बालिहाङ्ग नयाँ जिम्माल भए। जिम्मावाल प्रथा भए नि रैतिहरुलाई उति थिचोमिचो नगर्ने भएकोले तिनको सँधै सम्मान गर्थे।

लेखक

आफ्नै काम सम्झेर काम गर्थे । जिम्माल पनि तिनको गार्‍हो (खाँचोमा कहिल्यै अन्कनाएनन्। कसैलाई होचो अर्घेल्लो नबनाएकैले हतुवाली जिम्मालको नामसित अरुतिरकाहरु अलि सतर्क हुन्थे।

नाम्नुहाङ् पछि पनि छोराको आस भएरै उसलाई जेठो भनिरहे घर गाउँमा । तर उनी एक्लै जेठा भए । हुर्किँदै जाँदा हाट बजार, रंग रउस, सबैतिर नाम्नुहाङ्ग पुग्न थाल्यो । बिस्तारै फौदारिमा कहलिन थाल्यो ।

उसले फौदारी नगरेको बजारै रहेन । तृतिया बजारदेखी नवमी मेला, शनिबारे हाट, तिनखोले, राँके, थुम्की अनि उँभौली–उँधौली सबैमा उद्युम मच्याउनेमा उ नै पर्थ्यो ।

उसको किर्ती अरुणको नाउ चढेर खोकु–छिन्ताङ्गको वाढाङ्मी मेलासम्म पुगेको थियो । तर कसैले पनि उसलाई नराम्रो भन्दैनथे । किनकी जहाँ जसले छोरिमान्छेहरुलाई जवर्जस्ती जिस्काउने, तान्ने वा अनावस्यक दादागिरी देखाउन खोज्थ्यो त्यहिँ मात्र उसको निशानामा पर्थे ।

उसंग एक पटक भिँडेपछी अर्को पटक त्यो मान्छे छेउ पर्नै सक्दैनथ्यो । सबैले भन्थे उसको त जोरनारी छ, मुड्किले हिर्काएरै हरियो बाँस त फुटाउँछ… यस्तै यस्तै ।

उसका बिरुद्ध अरु गाउँकाले नि कुरा गर्नै अन्कनाउथे, किनभने अरुले गलत गरेपछी मात्र उ अघि सर्थ्यो अर्को कुरा हतुवाको अत्यन्तै कहलिएको जिम्माल परिवारको भावी जिम्माल थियो ऊ । उसका यी सब हर्कतसंग उनका जिम्माल बाबू अपरिचित त थिएनन् तैपनी खासै गाली गर्दैनथे बरु छोरोको पुरुषार्थ सम्झेर आँखा चम्किलो बनाउँथे।

एकदिन बालिहाङ्गकै ससुरालितिरका गल्लावाल हतुवा छिरे लाहुरे खोज्दै । तर जिम्माल बालिहाङ्गलाई लाहुरको कुरा मन नपर्ने भएकोले त्यहाँ कुरा खोलेनन् ।

भेट्घाटको लागि भन्दै जिम्मालकोमा पुगे। त्यसको चारदिनमा सोर्‍ह जना केटौलेहरु हराए साथमा नाम्नुहाङ्ग पनि थियो । भर्तिवालले रातिराती भेला पारेर लाहुर लगेर गएको गाइँगुइँ चल्यो । आफ्नै ससुरालिले अपुताली बनाएको झोँक निक्कै सम्म हराएन जिम्मालको ।

किनभने त्यो समय बिश्वयुद्धको थियो, लाहुर जानेहरु फर्किने टुङ्गो हुन्थेन। गएकाहरु मध्ये आधा जति धरानबाट फिरे, नाम्नुहाङ्ग भने फिरेन । पाँच बर्षपछी बल्ल घर फिर्क्यो मलायाको लाहुरे भएर ।

जिम्माल बुढालाई अल्बाईन घडी, फिलिप्स रेडियो, देसि जुत्ता अनि दौरा सुरुवाल छोरी मान्छेहरुलाई लुगाफाटो, नुन,तेल, उसिना चामल आदिको भारी धरानबाट बोकाएर आईपुगेको दुई महिनामा बिबाह गरेर पल्टन फर्क्यो ।

अर्को पाँच बर्षमा घर फर्किँदा निक्कै परिबर्तन भइसकेको थियो । उसको घरमा तीन बर्ष पुगेको छोरो थियो भने जिम्माल बुढा बितेको दुई बर्ष भइसकेको थियो, नेपालमा ठूलो राजनैतिक परिबर्तनले जिम्माल प्रथा नै खारेज गरिसकेको थियो ।

नाम्नुहाङ्गको आमा बुङ्छ्याङ्माको केश आधा पाकिसकेको थियो भने नाम्नुहाङ्गसंग फक्ल्याण्डमा अर्जेन्टिनी सेनासंग खुकुरिको भरमा घण्टौँ एक्लै लडेर बाँचेको कहानी ।

उताको अन्तिम फायरिङ्गको गोलि कतैबाट बत्तिएर फिलाभित्र छिरेको थियो । बहादुरी देखाउनु भन्दा पनि ज्यान जोगाउनु थियो उसलाई, भाग्न नसक्ने भएपछी खुकुरी निकालेर अन्तिम जोश प्रयोग गरेथ्यो ।

वरपर देखिएका सबै रक्ताम्मे भएर ढलेको देखेपछी आफै पनि रिंगटाले ढलेछ, पछि होस आउदा मिलिटरी हस्पिटलमा साथिहरुले पुर्‍याईसकेका थिए ।

यो पटक छ महिना बिदा थियो उसको । बाउ मरेको खवर १० महिनापछी पाएको थियो। छोरोले गर्नुपर्ने काजक्रिया गर्‍यो। घाईते भएकोले नजान सुझाए सबैले । तर खास खतरा टरिसकेकोले केही हुन्न भनेर ऊ फेरि पल्टन गयो ।

जिम्माल पुर्खाको थातथलो, प्रशस्तै जग्गा जमिन लेख–बेँसी । काम खट्न गाउँलेहरुले सघाउँथे । काममा दुःख थिएन । समय बितिरह्यो । देशमा ब्यवस्थाहरु फेरिदै गए ।

निनामहाङ्ग पेन्सनमा निस्किएको नि धेरै समय भयो । पेन्सनमा निस्केपछी आमा बितिन् । पहाडको जायजेथा गाउँकै एउटा परिवारलाई रेखदेख गर्न छाडेर धरान बस्न थालेको नि २५ बर्ष बित्यो ।

उसका दुई छोरा दुई छोरी भए । एउटा छोरो ब्रिटिस लाहुरे नै भयो, र बिहा गरेर उतै बस्दैछ । कान्छो बायो ईन्जिनियर । जेठी छोरी सफ्ट्वेयर ईन्जिनियर पढ्दै गर्दा पाँचथरतिरको निनामहाङ्गकै नम्बरिको लाहुरे छोरासंग बिहा गरिदिए र युकेतिरै वस्छन् । कान्छी छोरी डिभी परेर अमेरिका गएको पाँच बर्ष भयो।

धरान बसेपनी आफ्नो गाउँको बिकास र उन्नतिका लागि गाउँकाले सम्झिरहन्छन् जिम्माल जेठालाई । आठापाँचा मद्दत पनि पुगेको छ गाउँलाई । धेरै साल भो ब्रिटिसले प्रकृया पुर्‍याएर भुपुहरुलाई उतै राख्ने ब्यवस्था गरेको ।

जिम्माल जेठालाई नि थुप्रैले कर गरे, छोराछोरी, आफन्त, नम्बरी आदिले। उताको मोहले तान्दै तानेन । सबै छोराछोरी घरबाहिर भएपछी बरु हतुवा मै गएर बस्न थाले बुढाबुढी नै । रेखदेख गर्ने पहिलाको गाउँलेसंगै एउटै परिवार भएर गाउँमा सामाजिक काममा सकृय भए।

एकदिन जिम्मालको आँगनमा ठूलो खैलाबैला मच्चियो। गाउँको स्कुल बनाउने सल्लाह गर्न भेला भएको बेला एक्कासी जिम्माल जेठा भुक्लुक्कै भुइँमा पछारिए कहिल्यै नउठ्ने गरि। गाउँका सबै मान्छे भेला भएर एकोहोरिए, कसैको बोली आएन ।

सबैको अनुहारबाट सुँक्क सुँक्क मात्र आईरह्यो । सबैतिर सम्पर्क गरियो । नेपालमै भएको कान्छो फिल्डमा सुदुरपश्चिम पुगेको थियो, भोलिपल्ट बेलुकी आईपुग्यो । बाहिर हुनेहरु आईपुगुन्जेल राख्न नसकिने भएकोले उनिहरुकै सहमतिमा पर्सिपल्ट किराँती संस्कार अनुसार सत्गद गरियो ।

सबै छोराछोरी भेला भएर काजक्रिया गरियो, तीन दिनसम्म । त्यसको दुई दिनदेखी लगातार दुई हप्ता भयो धामिले जिम्माल जेठाको बारेमा माङ (पित्री) मा सोधपुछ गर्न थालेको।

परिवारकाहरुले माङ् मै राखेर पुज्न खोजेका थिए तर उसको शरिरमा कुनै समय हतियारले ठूलो घाउचोट परेकोले माङ्ले लिन नसक्ने भयो । धामिको अन्तिम निचोड सुनेपछी गाउँमा हल्ला फैलिएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News