प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बूढीगङ्गा नदीका पीडित लाई लागि आवास हस्तान्तरण


 


इटहरी, वैशाख ५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले क्षति नोक्सानी पुर्‍याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिका बीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजना मार्फत रोकथामका लागि प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन् ।

मुख्यमन्त्री राईले बुधबार बूढीगङ्गा नदीमा गत साउन २७ गते राति आएको बाढीबाट घरबारविहीन बन्न पुगेका ३७ घरपरिवारका लागि निर्माण भएको आवास हस्तान्तरणपछि आफ्नो धारणा राख्दै उक्त कुरा बताएका हुन् ।

इटहरी उपमहानगरपालिका–१० को सुकुम्बासी बस्तीमा पसेको बाढीले घरबारविहीन बन्न पुगेका सुकुम्बासी परिवारको बसोबासका लागि एसओएस बालग्राम इटहरीको आपत्कालीन राहत कोषमार्फत क्विक रेस्क्यु टिम नेपाल तथा अन्य विभिन्न संघसंस्थासमेतको रु ५२ लाखको लागतमा त्यहाँ ३७ परिवारको घर निर्माण गरिएको हो ।

ती घर सम्बन्धित परिवारलाई हस्तान्तरण पछि मुख्यमन्त्री राईले एसओएस लगायतले आपत्कालीन मानव सेवा भावनाले प्रेरित भएर गरिएको यो उदाहरणीय कार्यबाट हामी नेपालीले राम्रो शिक्षा लिन जरुरी रहेको बताए ।

संविधान अनुरुप तीन तहको निर्वाचन सम्पन्न भई जनअनुमोदित स्थानीय प्रदेश र संघीय सरकारले काम अघि बढाइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईले अब देशको आर्थिक अवस्थाले भ्याएसम्म सबै प्रकारका भौतिक पूर्वाधारको निर्माणसँगै सुकुम्बासीको दीर्घकालीन समाधानका कार्यसमेत गरिने बताए ।

प्रदेश सांसद निलम बस्नेतले प्रदेश सरकारले बूढीगङ्गा नदी आसपासको मावनबस्ती सुरक्षित राख्नका लागि ठोस नीति र योजना बनाएर काम गर्ने विषयमा आफ्नो पनि विशेष ध्यानाकर्षण भएको विश्लेषण सुनाउँदै यसलाई आफू इटहरीवासी भएको नाताले दुहवीसम्मको क्षतिलाई विश्लेषण गरेर ठोस काम अघि बढाइने बताइन् ।

उक्त घर हस्तान्तरण समारोहमा घर निर्माणकार्यमा हातेमालो गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएकोथियो।

 

 

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्