जनकपुर–जयनगर रेल–वेमा नेपालको झण्डा


 


काठमाडौं, असोज २८

निर्माणाधीन जनकपुर–जयनगर–कुर्था रेल–वेमा नेपालको झण्डा राख्ने सरकारले निर्णय गरेको छ । आज निकै लामो समय बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । रेल–वे सञ्चालनका लागि आवश्यक पर्ने कानुनी र अन्य संरचना निर्माण गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै बैठकले लोक सेवा आयोगलाई २ महिनापछि मात्रै नयाँ कर्मचारीका लागि आवेदन खुला गर्न पनि निर्देशन दिएको छ ।

नेपालको समग्र विकासको लागि इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापन, कानुन, अर्थशास्त्रमा आवश्यक पर्ने समग्र जनशक्तिको आकलन गरेर तदनुरुप शैक्षिक संस्थाहरु तथा समग्र शैक्षिक प्रणालीको पुनर्संरचनाको निम्ति सुझाब दिन शिक्षामन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाउने निर्णय गरेको छ ।

समितिलाई समग्र अध्ययन गरी प्रतिवेदन बुझाउन ६ महिनाको समयसीमा तोकिएको छ । उक्त समितिले दिएको प्रतिवेदनको सुझावलाई १५औं राष्ट्रिय पञ्चवर्षिय योजनामा समावेश गरिने छ ।

जमलमा रहेको जनप्रशासन क्याम्पसमा राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि सरकारले गरेको छ । चिकित्सा शिक्षाको सन्दर्भमा विगत कार्यदलले निर्णय गरे अनुसार यो वर्षको शुल्क पहिले निर्णय अनुसार गर्ने निर्णय भएको छ । यस्तै सरकारले दसैंको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा शुभकामनासमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्