यी वडा अध्यक्ष जसले आफ्नो तलबबाट गरे असहायलाई सहयोग !


 


विमल बिष्ट, डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वरका वडा अध्यक्ष बुद्धीसागर बिनाडीले आफुले राज्यबाट पाउने पारिश्रमिकको केही अंश बाट आफनो गाउपालिका बिभिन्न वडाका अपाङ्ग,असहाय, बृद्ध, दलितहरुलाई आर्थिक सहयोग गर्नु भएको छ । उहाँले आफनो गाउपालिकाका सबैवडामा रहेका असहायहरुलाई रु २ हजारका दरले आर्थिक सहयोग गर्नु भएको हो ।

उहाँले आफुले गरेको आर्थिक सहयोग धेरै ठुलो नभएपनि असहाय र बिपन्न व्यक्तिका लागि ठुलो भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘सबैले यसरी नै अलिकती भएपनि सहयोग गरे असहायर बिपन्नलाई ठुलो सहयोग हुन्थ्यो ।’ त्यस्तै उहाँले आफनो लवडा भित्र रहेका विद्यालयहरु बाट छनोट गरी गरिव, जेहेन्दार, उत्कृष्ठ अंक ल्याउने दश जना छात्राछात्र र गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ठ काम गर्ने केही कर्मचारीहरुलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताउनु भयो ।

वडा अध्यक्ष बिनाडीले सुरुवात गरेको कार्य उदाहरणीय तथा अनुकरणीय रहेको बडीकेदार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर चन्दले बताउनु भयो । ‘रकम जे जति होस राम्रो कामको सुरुवात गर्नुभयो’, उहाँले भन्नुभयो–‘यो कामले पक्कै पनि समाजमा केही भएनी सकारात्मक प्रभाव पर्छ ।’

‘गाउँपालिकाको विकासमा यसरी सबै तह तप्का र क्षेत्रबाट सहयोग गरे गाउँपलिकाले पनि रचनात्मक कार्यमा सहयोग गर्न सकिने समेत अध्यक्ष चन्दले बताउनुभयो । देश संघीय संरचनामा गएपछी साबिकका बर्छैन, मान्नाकापडी, घागल, लानाकेदारेश्वर गाउँ बिकास समिति मिलेर बडीकेदार गाउँपालिका बनेको हो । हाल ५ वटा वडा रहेको सो गाउँपालिका भौगोलिक रुपमा दोस्रो बिगट नम्बरमा पर्दछ । बिनाडी काग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्