रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार



काठमाडौँ, पुस २३

सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’

जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा मुद्दा दायर गर्नुभएको थियो । सो अदालतको विसं २०७४ चैत २२ गतेको आदेशविरुद्ध २०७५ असार ५ गते सर्वोच्च अदालतमा उहाँ जानुभएको थियो ।

चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ ।

सो घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट विजयी हुनुभएको थियो । चौधरीले यही पुस १९ गते सभामुख कृष्णबहादुर महराबाट शपथसमेत लिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News