स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न प्रधानमन्त्री ओलीको निर्देशन


 


काठमाडौं, पुस २४

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न सचेत गराउनु भएको छ । प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरू धरासायी भएको उल्लेख गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिक पीडित हुन नदिन पनि मातहतका निकायलाई कडा निर्देशन दिनुभयो ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो । शिक्षण संस्थाहरूलाई जनताको साझा संस्थाको रूपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिष्ठानका कूलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शीताको आवश्यक्ता औँल्याउनुभयो । उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गालगायतका समस्या तत्काल समाधान गर्ने आश्वासन पनि दिनुभएको थियो ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्