नदीमै क्रसर उद्योग, सम्बन्धित निकायको ध्यान पुगेन


 


अंकुश कुँवर
धनगढी, माघ १०/ कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महराटोल नजिकै गोदावरी नदी किनारमै कानून विपरित घुम्ती क्रसर उद्योग सञ्चालन गरिएको छ । नदीबाट अबैधानिक रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्य भइरहेको छ।

क्रसर तथा खानी उद्योग सञ्चालन निर्देशिकाअनुसार नदीबाट पाँच सय मिटरसम्म क्रसर उद्योग खोल्न नपाइने भएपनि यहाँ यो नियमको कुनै पालना नै भएको छैन । नेपाल सरकारले २०७१ साल असार महिनाबाट लागू क्रसर तथा खानी उद्योग सञ्चालन निर्देशिका लागू गरिसकेको छ।

निर्देशिकाअनुसार वन, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाट कम्तीमा दुई किलोमिटरसम्म क्रसर उद्योग राख्न पाइदैन । तर, गोदावरी नदीको किनारमा रहेको क्रसर उद्योगसंगै सामुदायिक वन पनि जोडिएकोे छ।

तर, गोदावरी नदीमा नागार्जुन कन्ट्रक्सन प्रालिले कानूनविपरित घुम्ती क्रसर राखेर नदीजन्य पदार्थ उत्खनन् गरिरहेको छ । ठेकदार कम्पनीले नदीबाट जथाभावी ढंगले बालुवा, ढुंगाका उत्खनन् गरिरहेको स्थानीयबासीसमेत बताउँछन् । स्थानीयले पनि यस कार्यको विरोध गरिरहेका छन्।

तर, त्यसको विरोध गर्ने केही व्यक्तिलाई प्रलोभनमा पारेर चुप लगाउने काम पनि भएको बताइएको छ । नदी खोतलेर गिट्टी–बालुवा संकलन र निकासी गर्ने कामले बस्ती नै जोखिममा पर्ने भन्दै स्थानीयले विरोधसमेत गरेका थिए । तर, अहिले त्यो आवाज कम भएको छ । विरोध गर्ने अगुवाहरुलाई प्रलोभनमा पारेर विरोधको आवाज मथ्थर पारिएको छ।

क्रसर उद्योग सञ्चालनका लागि नागार्जुनले घरेलु तथा साना उद्योग कार्यालयसंग अनुमति लिएको छैन । कार्यालय प्रमुख लोकेन्द्रबहादुर खड्काले क्रसर उद्योग सञ्चालन गर्न कुनै पनि आवेदन दर्ता नभएको बताउनुभयो । ‘कैलाली जिल्लामा चार वटा क्रसर उद्योगमात्र सञ्चालन रहेको तथ्यांक छ ।’ उहाँले भन्नुभयो, ‘नयाँ कुनै दर्ता भएको छैन ।’ उहाँकाअनुसार नेपालको संविधानअनुसार स्थानीय तहमा क्रसर उद्योग सञ्चाल गर्न पाउने नियम छैन।

तर, नागार्जुन कन्ट्रक्सन प्रालिका ईन्जिनियर विश्वम्बर यादवले सबैसंग अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरिएको बताउनुभयो । उहाँले घरेलु, वन र सम्बन्धित नगरपालिकालाई पत्र पठाएर उद्योग सञ्चालन गरिएको दाबी गर्नुभयो । ‘घुम्ती क्रसर उद्योग सञ्चालन गर्न जहाँपनि पाइन्छ’ उहाँले भन्नुभयो, ‘हामीले मापदण्डअनुसार नै क्रसर उद्योग सञ्चालन गरेका छौं।’

गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँदले भने यसबारे अनभिज्ञता जनाउनुभएको छ । अस्थायी क्रसर उद्योग सञ्चालन, नदीजन्य वस्तु संकलन तथा निकासीको विषय स्थानीय तहको अधिनमा नरहेकाले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले यो विषय राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको धनगढी–अत्तरिया सडक आयोजनासंग जोडिएको बताउनभयो।

नदीबाट जथाभावी रुपमा ढुंगा, बालुवा उत्खनन् गर्ने तथा नदी किनारा मै क्रसर उद्योग सञ्चालन गरिएका कारण नजिकका वस्तीका बासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ । दैनिक दर्जनौ ट्याक्टर गुड्दा धुलो र धुवा तथा आवाजका कारण स्थानीयलाई कठिनाई हुने गरेको स्थानीयको गुनासो छ।

गोदावरी नदीमा आउने बाढीले वर्षेनि नोक्सानीसमेत गर्दै आएको छ। नगरपालिकाबाटै बाढी नियन्त्रणका लागि तटबन्ध गरिएको स्थानमा नै अहिले ढुंगा, बालुवा, गिट्टी उत्खनन् गर्ने कार्य तीब्र पारिएकाले यस वर्ष त्यस ठाउँमा थप कटानी हुन सक्ने चिन्ता स्थानीयको छ । तेघरी, गोदावरी सामुदायिक वन र राष्ट्रिय वनमा पर्ने गोदावरी नदीमा सीमित स्थानमा मात्र उत्खनन्का लागि तोकिएका छन् । सुदूरपश्चिम प्रदेश सभाले यही वन क्षेत्रमा प्रदेशको राजधानी तोकेको छ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्