जापानमा भन्दा नेपालमै बंगुर पालेर बढी आम्दानी


 


तनहुँ, १९ माघ– जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्थे । दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाए तर आत्मसन्तुष्टि कमाउन सकेनन् ।

अर्काको निर्देशनमा काम गर्नुभन्दा आफैँले सानो व्यवसाय गर्नसके आत्मसम्मान र प्रतिष्ठान हुने उनलाई थाहा थियो, तर बाध्यताले उहाँलाई वैदेशिक रोजगारको बाटो डो¥याएको थियो । जापानमा काम गरेर फर्किएपछि आफैँले केही व्यवसाय शुरु गर्छु भन्ने सोच राख्नुभएका आलेले आफ्नै ठाउँमा आएर अहिले बङ्गुरपालन गरिरहेका छन् । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका आलेले विसं २०६८ मा भानु कृषि तथा पशु फार्म दर्ता गरेर बङ्गुरपालन गरेका छन् । आफ्नै पेशा व्यवसाय भए अरुको निर्देशनमा काम गर्न नपर्ने र आफूले मेहनत गरेपछि आफैँलाई नै हुने आलेको भनाइ छ ।

उनले भने, ‘नेपालमै बसेर सानो व्यवसाय गरे पनि इज्जत र प्रतिष्ठा छ ।’ बङ्गुर तथा बाख्राको पाठापाठी उत्पादन गर्ने र अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यसहित फार्म स्थापना गरे पनि अहिले भने बङ्गुरका पाठापाठी मात्रै उत्पादन गरी बिक्री गरिरहेको उनले बताए । ४० लाखको लगानीमा व्यवसाय शुरु गरेका आलेको अहिले एक करोडभन्दा बढी लगानी भइसकेको छ ।

उनको फार्मबाट वार्षिक ५०० बङ्गुरका पाठापाठी उत्पादन हुने गरेका छन् । बङ्गुरको पाठापाठी बिक्री गरेर वार्षिक आठ लाखभन्दा बढी नाफा हुने गरेको उनले जानकारी दिए । बङ्गुरको पाठापाठीको जिल्लाभित्रै निकै नै माग भए पनि मागअनुसार पु¥याउन नसकेको उनले बताए । उनका अनुसार एउटा पाठापाठी पाँच हजारसम्म बिक्री हुने गरेको छ

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्