राष्ट्रपतिले गम्भीर चासो लिएपछि पछि हट्यो सशस्त्र


 


बबिता बस्नेत माघ २३
सशस्त्र प्रहरीले बाहिनी, गण र गुल्महरूको हिन्दू नाम परिवर्तन गरेको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर चासो राखेपछि सशस्त्र पछि हटेको छ । सशस्त्रले आफ्नो स्थापनाकालदेखि नै राखेको देवी–देवता तथा ऐतिहासिक स्थलहरूको नाम हटाएर नम्बरका आधारमा गण–गुल्म आदिलाई चिन्नुपर्ने गराएको भनी समाचार प्रकाशित भएपछि राष्ट्रपतिले यो विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको स्रोतले बताएको छ । यही २०७५ साल माघ २ गते बुधबार ‘जरैदेखि हिन्दुत्व मास्न भित्रभित्रै सरकारी सक्रियता’ शीर्षकमा घटना र विचारमा समाचार प्रकाशित भएको थियो ।

प्राप्त जानकारीअनुसार राष्ट्रपतिले चासो राखेपछि सशस्त्रले पहिलाको नाम जस्ताको त्यस्तै राखेर अगाडि नम्बर थप्ने भएको छ । सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले घटना र विचारसँगको कुराकानीमा नयाँ थपिएका संरचनामा अंक मात्रै हुने र पुरानाको अगाडि नम्बर थपिने बताए । प्रवक्ता श्रेष्ठका अनुसार पहिला ४२ जिल्लामा भएको सशस्त्रको संरचना अहिले ७७ जिल्लामा छ । ४२ जिल्लामा भएका बाहिनी, गुल्म र गणहरू स्थापनाकालमा जुन नाममा थिए सोही नाममा रहनेछन् भने ३५ वटा जिल्लामा अङ्क मात्र रहनेछ । उदाहरणका लागि क्याबिनेटमा लगेर १ नम्बरमा परिणत गरिएको बराह बाहिनी सुनसरीलाई अब १ नं. बराह बाहिनीका रूपमा चिन्नुपर्ने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेमबहादुर राईको डिजाइनअनुरूप सशस्त्रको पुनर्संरचनाको नाममा कार्यदल बनाई देवी–देवताको नाम फेर्ने निर्णय गरिएको थियो । नेपाली धर्म, संस्कृति झल्कने नामहरू मेट्दै जाने कम्युनिस्ट सरकारको अभियानअन्तर्गत यसको पहिलो सिकार सशस्त्र प्रहरी बल बनेको समाचार घटना र विचारमा प्रकाशित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सनातन हिन्दू धर्म तथा संस्कृतिसम्बद्ध सङ्घसंस्थाले यसको व्यापक विरोध गर्दै निर्णय तुरुन्त फिर्ता लिन चेतावनी दिएका थिए । समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा गृहमन्त्री रामबहादुर थापाको व्यापक आलोचना भएको थियो । यदि हिन्दू धर्म–संस्कृति मेटाउने नै भए सबैभन्दा पहिला गृहमन्त्रीले आफ्नो नाम फेर्नुपर्नेसम्मको प्रतिक्रिया दिइएको थियो ।

देवी तथा ऐतिहासिक स्थलहरूको नामबाट प्रारम्भदेखि नै चिनिँदै आएका गण, बाहिनी र गुल्महरूको नाम सरकारले मन्त्रिपरिषद्मै निर्णय गरेर खारेज गरे पनि त्यसबारे जानकारी भने दिइएको थिएन । देवी तथा ऐतिहासिक स्थलका नाम फेर्ने प्रस्ताव २०७५ साल जेठ २७ गते गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषद्को उक्त निर्णय २०७५ साल साउनदेखि लागू गर्दै सशस्त्रले नाम परिवर्तनको जानकारी मातहतका गुल्म, बाहिनी तथा गणहरूलाई पठाएको थियो । सशस्त्रको पुनर्संरचनाका नाममा गरिएको नामहरूको परिवर्तनलाई लिएर इतिहास मेटाउने काम भएको भनी सशस्त्रका अधिकृतहरूबीच व्यापक असन्तुष्टि छाएको थियो ।

क्याबिनेट निर्णय नै गरी परिवर्तन गरिएका नामहरूमा बराह बाहिनी सुनसरीलाई १ नम्बर, रुद्र बाहिनी पथलैयालाई २ नम्बर हुँदै क्रमशः मुक्तिनाथ बाहिनी पोखरा, महेश्वरी बाहिनी सुर्खेत, वैद्यनाथ कैलालीलगायत थिए । यसैगरी गणहरूमा पूर्वदेखि सुदूरपश्चिमसम्म फैलिएर रहेका पाथीभरा गण झापा, दन्तकाली सिरहा, सिद्धकाली सुनसरी, छिन्नमस्ता बर्दिबास, भद्रकाली बारा, गढीमाई चितवन, गुह्येश्वरी काठमाडौं, नीलबाराही काठमाडांै, भद्रकाली काठमाडौं, बगलामुखी काठमाडौं, विन्ध्यवासिनी चन्द्रौटा, कालिका पोखरा, चण्डिका पर्वत, मनकामना तनहुँ, बागेश्वरी बाँके, ज्वालामाई दाङ, त्रिपुरासुन्दरी कोहलपुर, बडिमालिका कैलाली र शैलेश्वरी कञ्चनपुर रहेका थिए ।

यसैगरी हिमाल, ताप्लेजुङ, छिन्ताङ, कञ्चनजङ्घालगायतका ऐतिहासिक स्थलका नामहरू रहेका विभिन्न जिल्लाका १६ वटा गुल्मको नाम परिवर्तन गरिएको थियो । नामको पुनर्संरचनाको पत्र एक्कासि प्राप्त गर्दा बाहिनी, गुल्म तथा गण प्रमुखहरू आश्चर्यचकित भएका थिए । गत साउन १ गतेबाटै लागू भए पनि सशस्त्रले आफ्नो वेबसाइटमा समेत उक्त निर्णय राखेको थिएन । राष्ट्रपतिले यस विषयमा चासो नराखेको भए पूर्वनिर्णयमा सुधार हुन सक्थ्यो या सक्दैनथ्यो भन्न सकिन्न । यस घटनाबारे जानकारी पाउनेहरूले राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद दिएका छन् । घटना र बिचारको सहयोगमा

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्