सरकारले ‘पशुपति’ को गीत बन्द गराएको भन्दै काङ्ग्रेस रुष्ट


 


काठमाडौं फागुन ६
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’

जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए । उनले भने,‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ? मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’

सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रममा पेश गरेको तथ्यांक नै मिथ्यांक रहेको जोशीको आरोप छ । उनले भने,‘तथ्यांकलाई प्ले गर्न सकिन्छ, तर प्रधानमन्त्रीले तथ्यांक नभईकन मिथ्यांक पेश गर्नुभयो । उहाँले तथ्यांक दिने निकायहरुलाई मिथ्यांक दिन प्रेरित गर्नुभएको होला ।’ उनले वर्तमान सरकार राजनीतिक रुपमा अनुदार भएको टिप्पणी गरे ।

जोशीले देशको सबै आर्थिक सुचांकहरु नकारात्मक रहेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले व्यापार घाटा बढेको छ । महँगी बढेको छ । विदेशी लगानी घटेको छ । तर, प्रधानमन्त्रीले हिजोको भन्दा आज धेरै प्रगति भयो भन्नुभएको छ । म भन्छु, हिजोभन्दा आज प्रगति भएकै हो तर, त्यो भ्रष्टाचारको प्रगति हो । हिजो करोडको भ्रष्टाचार हुन्थ्यो, अहिले अरबौंको भ्रष्टाचार भएको छ ।’

सुन काण्ड, वाईबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा उनले सरकारविरुद्ध आक्रोश पोखे । उनले भने,‘सुन काण्डमा सरकारले किन परीणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’

सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । उनले भने,‘ठूलो कुरा गरेर हुँदैन् । काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ । पानीजहाजको सपना देख्नु गलत होईन । तर, तामझाम गर्नुहुँदैन् ।’ उनले मुलुक अहिले रशातालमा रहेको बताए ।

जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त पाठकको भ्रष्टाचारको विषयमा सरकारलाई चार महिना अघि नै जानकारी रहेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यतिका दिनसम्म पनि किन कारबाही गरिएन भन्दै प्रश्न तेर्साए ।

उनले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । उनले भने,‘तथ्यांक हेर्ने हो भने पनि अहिले नेपालको डुईङ विजनेश ५ अंकले घटेको छ, विदेशी लगानी ६६ प्रतिशतले घटेको छ, यो अत्यन्तै चिन्ताजनक हो ।’ मुलुकमा भ्रष्टाचार संस्थागत भएको हो कि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चिन्ता व्यक्त गरेको सुनाउँदै उनले यो ठूलो समस्या भएको बताए ।
उनले सुशासन र सदाचार अब कहाँ छ भनेर खोज्ने दिन आउनसक्नेपनि बताए । जोशीले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे ।

कर्णले भने,‘केवल भाषण गर्दैमा देश बन्दैन । देश बनाउनको लागि त विकास गर्नुपर्छ । समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ । अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ ।’
कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गरे । उनले भने,‘यो एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ती प्रक्रिया केही पनि राम्रो काम भएको छैन् ।’ राजपाको दृष्टिकोणमा वर्तमान सरकार कतैपनि सफल नभएको उनले जिकिर गरे ।

विदेश नीतिमा पनि सरकार फेल भएको उनको तर्क छ । यद्धपी उनले आफूहरुले संविधान संशोधनको आशमा यो सरकारलाई समर्थन गरेको स्पष्ट पारे । उनले भने,‘तर हामी अहिले संसदमा विपक्षको बेन्चमा बसेका छौं । त्यसैले अब राजपाले कहिले समर्थन फिर्ता लिन्छ भनेर उद्युम मच्याईरहनुपर्दैन् ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई पटक–पटक संविधान संशोधन गर्छु भनेर आश्वासन दिएकोले पनि समर्थन जारी राखेको कर्णले स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले हामीलाई पटक–पटक आश्वासन दिनुभएको छ, कहिले ७ दिनभित्र अघि बढाउँछु भन्नुभएको छ, कहिले तीन महिना भन्नुहुन्छ, अब पार्टीले यस विषयमा खास गरेर समर्थन जारी राख्ने वा नराख्ने भन्ने विषयमा अब बस्ने बैठकमा ठोस निर्णय गर्छ ।’
फरक प्रसँगमा उनले भ्रष्टाचार निवारण गर्ने निकायका व्यक्ति नै भ्रष्टाचारमा मुछिएको सुनाउँदै यो समस्यालाई गम्भिर रुपमा लिनुपर्ने बताए । उनले भने,‘यस्तो निकायमा नियुक्ती गर्दा हिजो सुनुवाई समिति वा संवैधानिक परिषदमा बसेकाहरुले आफ्नो मान्छे छान्दा आज यस्तो दुर्गती निम्तिएको हो ।’

मुलुकको यस्तो जिम्मेवार निकायका व्यक्ति नै यसरी भ्रष्टाचारमा मुछिएपछि सुशासन छ कि छैन भन्ने कुरा टर्च बालेर खोज्नुपर्ने अवस्था आउने पनि उनको तर्क छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्