‘श्रीमतीले उजुरी गर्दा दण्डमा परेंँ, अब मदिरा खान्नँ’


 


अछाम, ७ फागुन
मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन् । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुपर्यो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् ।

कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उनी दुई महिनायता घरायसी र बाह्य काममा समेत सक्रिय हुन थालेका छन् ।

“मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा रु एक लाख ४० हजार मदिरामै सकियो होला”, रानाले भने, “अब त मदिरा सेवन गर्दिनँ ।” आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुशी मनाएको उनको भनाइ छ । राना थप्छन् , “श्रीमतीको उजुरीपछि कारवाहीमा परेँ, सामाजिकरूपमा बदनाम भयो, अब कहिल्यै मदिरा सेवन गर्दिनँ ।”

मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पु¥याइरहेको भन्दै मङ्गलसैननगर र वडा नं १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुशी छन् । घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले मदिरा सेवन गरेर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहुँदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि मदिरा व्यवस्थापन कार्य प्रभावकारी भएको छ ।

नगरपालिकाका १४ वटै वडामध्ये वडा नं १ ले मदिरा व्यवस्थापनमा नमूना काम गरेको भन्दै वडाका सरोकारवाला पनि खुशी छन् । स्थानीय समाजसेवी रामराजनाथ भन्छन् “मदिराले अस्तव्यस्त भइरहेको समाजलाई मदिरा सेवन तथा बिक्रीको समय निर्धारण गरी व्यवस्थापन गर्दा पनि निकै फाइदा भएको छ, अब मदिरारहित समाज बनाउन सबै लाग्नुपर्छ ।”

वडा कार्यालयले सञ्चालन गरेको मदिरा व्यवस्थापन अभियानमा करीब एक वर्षको अवधिमा ३९ कारवाहीमा परेका छन् । तोकिएको समयभन्दा अन्य समयमा मदिरा सेवन तथा बिक्रीवितरण गर्ने उनीहरुलाई कारवाही गरी जरिवानावापत रु ४५ हजार ५०० राजश्व सङ्कलनसमेत वडाले गरेको छ । कारवाहीमा परेका अन्य ११ बाट अझै रु १८ हजार असुली गर्न बाँकी रहेको वडा सदस्य पूर्णबहादुर रानाले जानकारी दिए । वडाले चलाएको मदिराविरुद्धको अभियानलाई स्थानीय महिला तथा सरोकारवालाले महत्वपूर्ण साथ दिएको उनको भनाइ छ ।

वडाले बिहानदेखि बेलुकासम्म मदिरा सेवन गर्न नपाउने नियम बनाएपछि पुरुषहरू सुध्रिएको महिलाको भनाइ छ । महिला स्वयंसेविकासमेत रहेकी मोती साउदले मदिरा सम्पूर्णरूपमा बन्द हुनुपर्ने माग गरिन् । “मदिराले धेरैलाई घरबारविहीन बनाइसक्यो, हाम्रो दुस्मन भनेको नै रक्सी हो, त्यसैले सरकारले पनि यसलाई बन्द गराउनुपर्छ ।” उनको भनाइ छ ।

मङ्गलसैन–१ मा मदिरा व्यवस्थापनकार्य प्रभावकारी देखिएपछि अब मदिरामुक्त वडा बनाउने अभियानमा लाग्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । वडालाई मदिरामुक्त बनाएर समृद्ध र नमूना बनाउने अभियानमा आफू लागेको बताउँदै वडाध्यक्ष गोपाल थापाले यस कार्यमा सबैको साथ चाहिने बताए ।

वडा नं १ ले मदिरा व्यवस्थापन कार्यलाई सहज ढङ्गले सफल बनाएकामा खुशी व्यक्त गर्दै मङ्गलसैन–३ का अध्यक्ष पदमसिंह भाटले यसको सिको अन्य वडाले पनि गर्न जरुरी रहेको बताए । वडा नं १ ले गरेको राम्रो कार्यका कारण नगरका अन्य वडाध्यक्षलाई पनि सक्रिय बन्न प्रेरणा मिलेको अध्यक्ष भाटको भनाइ छ । वडा नं २ का अध्यक्ष मानबहादुर बोगटीले नगरको समग्र विकासका लागि मदिरा नियन्त्रण पहिलो चुनौती रहेको भन्दै आफूहरु सामुहिक रूपमा मदिराविरुद्ध लागिरहेको बताए ।

नगरपालिका प्रमुख पदमबहादुर बोहराले जस्तोसुकै चुनौती आइलागे पनि मदिरा व्यवस्थापन गरेरै छाड्ने बताए । मदिरा व्यवस्थापनका लागि कानूनले तोकेको समयावधि र सार्वजनिकस्थलबाट २०० मिटर टाढामात्रै बिक्री तथा सेवन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नगरप्रमुख बोहराको भनाइ थियो । , “नगरको १ नं वडामा मदिराको प्रभावकारी व्यवस्थापन भएको छ, अब अन्य वडा र मङ्गलसैन बजारमा पनि मदिरा व्यवस्थापन गरिन्छ, समाजको दुस्मनका रूपमा रहेको मदिराले धेरै युवालाई बर्बाद बनाइरहेकाले मदिरालाई हामीले त्याग्नै पर्छ ।” उनको भनाइ छ ।

नगरपालिकाले युवालाई व्यावसायिक सीप विकासमा अग्रसर गराउँदै कृषि उत्पादन, फलफूल खेती, पशुपालन र उद्यमशील कार्यमा लगाउने लक्ष्य राखेको छ । नगरवासीलाई आयआर्जनका क्रियाकलापमा सक्रिय गराई आत्मनिर्भर बनाएर समृद्ध नगर बनाउन आफू प्रयत्नशील रहेको भन्दै नगरप्रमुख बोहराले त्यसका लागि मदिरालगायत सामाजिक विकृति विसङ्गतिको अन्त्य जरुरी बताए ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्