सेती मेरै कार्यकालमा निर्माण गर्छु: प्रधानमन्त्री ओली


 


काठमाडौं फागुन ८
प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुगेका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताए ।

डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला भारतसँग जोडिएका क्षेत्रमा पक्की पुल हुने ठाउँमा पक्की पुल बनाउने, सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल र पक्की तथा झोलुङ्गे पुलको सम्भावना नभएका स्थानमा तुइन विस्थापित गर्दै केबुलकार सञ्चालन गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “सरकारले बेरोजगारिताको अभियानका लगि केही भत्ता दिनेजस्ता काम गरिरहेका छौँ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले सवस्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताए ।

‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार तयार भएको छ’, उनले भने ।

पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको मन्त्री पुनले जानकारी दिए । दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सव स्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा वितरण भइरहेको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा निर्माणमन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधर विकासमन्त्री पठानसिंह बोहरा र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्