यी हुन् हेलिकोप्टर दुर्घटनास्थल पुग्ने पहिलो व्यक्ति


 


काठमाडौं  पाथिभरा र त्यस आसपासका क्षेत्रमा बुधबार बिहानैदेखि कुहिरो मडारिने र फुसफुस हिउँ पर्ने भइरहेको थियो। दिउँसो एक बजेर केही मिनेट मात्रै गएको थियो। पाथिभरा मन्दिरभन्दा तीन किलोमिटर पर रहेको ठूलोफेदीस्थित स्वास्थ्यचौकीमा थिएँ म। मेरो मोवाइलमा फुङलिङ नगरपालिका वडा नम्बर १० का शुक्रवीर भट्टराईको फोन आयो। उनले केही समयअघि हेलिकोप्टरको आवाज सुनेको र त्यसपछि आकाशमा बम पड्केको जस्तो आवाज आएको बताए।

उनले आकाशतिर हेर्दा कालो मुस्लो धुवाँ फैलिँदै गरेको देखेको कुरा पनि गरे। त्यसपछि हेलिकोप्टरको आवाज नसुनिएकाले के भएको रहेछ बुझौं भने। मेरो स्वास्थ्यचौकी नजिकै प्रहरीचौकी छ। मैले तत्कालै प्रहरीलाई जानकारी गराएँ। र, फेरि भट्टराईलाई सम्पर्क गरें। उनले हेलिकोप्टरको आवाज नसुनिएको र सिस्नेखोलाको तारेभीरबाट धुवाँको मुस्लो आइरहेको बताए। एक पटक पानीको मुहान खोज्न गएकाले मलाई त्यो क्षेत्रको लोकेसन बारेमा राम्रो जानकारी छ।

त्यसपछि म, प्रहरी जवान उपेन्द्र मगर, पाथिभरा सम्वद्र्धन समितिका कर्मचारी राम लिम्बु, स्थानीय होटल व्यवसायी सुरज भट्टराई घटनास्थलतर्फ लाग्यौं। घटनास्थल स्वास्थ्य चौकीबाट तीन किलोमिटर मात्रै पर भएपनि हिउँ परेको कारण हिंड्न निकै कठिन थियो। भीरैभिर हिंडेर हामी दुई बजेर केही मिनेटपछि घटनास्थलमा पुग्यौं।

घटनास्थलमा पुग्दा हेलिकोप्टरमा आगो लागिरहेको र धुवाँ आइरहेको देखियो। तीन वटा ढुंगा बीचको ओडारमा हेलिकोप्टर दुई टुक्रा भएर खसेको रहेछ। शवहरु क्षतविक्षत अवस्थामा छरिएका थिए। त्यसै समयमा कान्तिपुर दैनिकका ताप्लेजुङ संवाददाता आनन्द गौतमले फोन गरे। उनलाई घटना बारे जानकारी गरायौं।

स्याउला काटेर हामी हेलिकोप्टरमा लागेको आगो निभाउन थाल्यौं। साथै फोन गर्दै विभिन्न निकायमा घटनाबारे जानकारी गरायौं। प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, पाथिभरा सम्वद्र्धन समितिका पदाधिकारीलाई फोन गरेर घटना बारेमा जानकारी दियौं।

घटनास्थलमा कतै कोही जिउँदै भेटिन्छन् कि भेनेर खोज्यौं। मन्त्री रवीन्द्र अधिकारी बाहेक अरुको शव जलेको अवस्थामा थियो। मन्त्री अधिकारीको टाउको ओडारभित्र थियो। त्यसपछि थप सुरक्षाकर्मी र अन्य मानिस आइपुगे। सेनाको हेलिकोप्टर पनि आयो। शव लैजाने कोसिस गर्यो। सेनाको हेलिकोप्टरले एक पटकमा दुई वटाका दरले दुई पटकमा चार वटा मात्रै शव लैजान सफल भयो।

अहिले साँझको ७ बजेको छ। हामी घटनास्थलबाट ठूलोफेदी फर्किंदै छौं। हिउँ अहिले पनि परिरहेको छ। बाटो हिंड्न निकै कठिन छ। यस्तो अकल्पनीय घटनाले मन नै गह्रुङ्गो बनेको छ।

(ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थलमा पहिलो पटक पुगेका ठूलोफेदीका अहेब उमानाथ पौडेलसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्