रहेनन् विद्यार्थी सहुलियतका नायक


 


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट मुलुकले विद्यार्थी भाडा सहुलियतका नायक गुमाएको छ । विद्यार्थीलाई गाडी भाडामा छुट मन्त्री अधिकारीकै सक्रियतामा भएको हो ।

अधिकारी विद्यार्थी नेता भएको बेला उहाँकै सक्रियतामा २०५९ सालमा विद्याथीलार्ई गाडी भाडामा ३३ प्रतिशत छुट गराइएको हाे । अधिकारी त्यसबेला नेपाल कम्युनिष्ट पार्टीमाले) निकट अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो । माले निकट अनेरास्ववियुले गाडी भाडामा ५० प्रतिशत सहुलियत माग गर्दै आन्दोलन गरेको थियो । आन्दोलनमा स्याङ्जाका देवी पाैडेलले जीवन गुमाए । विद्याथीहरुले भाडा छुट माग गरे पनि यातायात व्यवसायीले लामो समयसम्म त्यसलाई अस्वीकार गरिरहे ।

विद्यार्थीले पाउने गाडीभाडा छुटमा मन्त्री अधिकारीको योगदान झल्किरहेकाे छ

विद्यार्थीहरुले भाडाभाडामा सहुलियत माग्दै आन्दोलनलाई निरन्तरता दिएपछि व्यवसायीहरु २५ प्रतिशतसम्म छुट दिन सहमत भए । तर आन्दोलनका नेतृत्व गरिरहेका अनेरास्ववियुका अध्यक्ष अधिकारी, ठाकुर गैरे र कृष्ण केसी लगायतका विद्यार्थी नेताहरूले ५० प्रतिशतमा अडान लिएपछि तत्कालीन यातायात व्यवस्थामन्त्री पाल्तेन गुरुङले व्यवसायी र विद्यार्थी दुबै पक्षको मध्यमार्ग हुने ३३ प्रतिशत छुट दिने सहमति गराएका थिए । अधिकारीको सक्रियकै कारण भएको विद्यार्थी सहुलियत अहिले ४५ प्रतिशत पुगेको छ । विद्यार्थीले पाउने भाडा छुटमा मन्त्री अधिकारीको योगदान झल्किएको छ ।

पारसलाई शाहज्यादाबाट हटाउन ५ लाख हस्ताक्षर
मन्त्री अधिकारी विद्यार्थी नेता हुँदा पारसलाई शाहज्यादाबाट हटाउने अभियान सचालन गरेर चर्चामा आएका हुन् । २०५७ सालमा शाहज्यादा पारसले चलाएको गाडीको ठक्करबाट संगीतकार प्रवीण गुरुङको निधन भयो । दरबारले शुरुमा गाडी अरु चालकले चलाएको दाबी गर्यो ।

गाडी भुजेल थरका चालकले चलाएको जनाएर उनलाई पक्राउ गरी थुना राखियो । तर घटनाका प्रत्यदशीले गाडी पारसले नै चलाएको अभिव्यक्ति सार्वजनिक गरी दिएपछि गीतकार प्रवीण गुरुङ प्रकरणले अर्कै रुप लिन पुग्यो । अधिकारी नेतृत्वको अनेरास्ववियुले प्रवीण गुरुङ हत्या प्रकरणलाई आन्दोलनको कसी बनायो । अनेरास्वयिुले पारसलाई शाहज्यादाबाट हटाउन रत्नपार्कमा हस्ताक्षर संकलन अभियान संचालन गर्यो ।

अनेरास्ववियुका तत्कालीन अध्यक्ष अधिकारी, महासचिव वसन्त मानन्धर र ठाकुर गैरेको अगुवाईमा पारसलाई शाहज्यादाबाट हटाउन माग गर्दै दरबारमा ५ लाख हस्ताक्षर बुझाइयो । हस्ताक्षर बुझाएर विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिएपछि तत्कालीन राजा वीरेन्द्रले पारसलाई शाहज्यादाबाट हटाइएको शाही घोषणा गरे । पारसलाई शाहज्यादाबाट हटाइएपछि त्यसको श्रेष्यको मुख्य भागीदार अधिकारी बन्न पुगे ।

यसरी पारसलाई शाहज्यादा हटाउन र विद्यार्थीलाई गाडी भाडामा सहुलियत दिलाउन सफल भएपछि अधिकारी राजनीतिमा चर्चित भएका हुन् ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्