मुख्यमन्त्री राईद्वारा भोजपुरमा साढे १३ करोडको सडक कालोपत्रे शिलान्यास


 


भोजपुर । भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडकको कालोपत्रेको आज प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको यसै आर्थिक वर्षको बजेटबाट कालोपत्रे गर्न लागिएको ५ किलोमिटर सो सडकको कुल लागत १३ करोड ५३ लाख ९८ हजार २ सय २७ रहेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेडीका अनुसार सो सडक निर्माणको लागि ठेकेदार कम्पनी रायामाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ ।

सडक कालोपत्रेको काम १८ महिनाभित्र सक्ने गरि सम्झौता गरिएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधी श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिवद्धता जनाए । उनले निर्माणको काम समयमै सम्पन्न गराउन सबै पक्षले सबै पक्षले सहयोग र निगरानी गर्न आग्रह गरे ।

सडकको शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ को १४ जिल्लाभरिमै यस आर्थिक वर्षको सबैभन्दा छिटो शुरु भएको यति ठूलो राशीको योजनाको रुपमा भोजपुर –एयरपोर्ट सडक कालोपत्रे रहेको भन्दै यो प्रदेशको गौरवको आयोजना भएको बताए ।

आफू अहिले दिनसक्ने हैसियतमा डाडुपन्यु लिएर बसेकाले भोजपुर जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको प्रतिवद्धता थियो । उनले चाँडै नै भोजपुरमा अन्तराष्ट्रिय मापदण्डको फुटबल रंगशाला, ट्याम्के डाँडामा भ्यू टावरको शिलान्यास गरिने जानकारी दिए । त्यस्तै नदिमा पक्की पुल र जिल्ला तथा ग्रामीण सडकहरुको स्तरोन्नती लागि विस्तृत अध्ययन गरिसकिएकाले केहि वर्षभित्रै जिल्लाले विकासको धेरै फड्को मारिसक्ने मुख्यमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्