यी हुन् संसदमा कहिल्यै नबोल्ने १७ सांसद


 


विराटनगर । नागरिकका समस्या, गुनासा सदनमा राख्दै सरकारसम्म पुर्‍याउनु र कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्नु सांसदहरूको जिम्मेवारी हो। तर प्रदेश १ को प्रदेशसभाका १७ सांसदले भने तेस्रो अधिवेशनभर एक पटक पनि जनसरोकारका विषयमा बोलेनन्। गत माघ २० गते सुरु भई वैशाख २३ गते सम्पन्न भएको प्रदेशसभा अधिवेशनमा १७ सांसद बैठकमा हाजिर भए पनि विधेयक माथिको छलफल वा शून्य समयमा पनि बोलेनन्।

प्रदेशसभामा सबैभन्दा कम उपस्थित हुने सांसद नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज भीम आचार्य हुन्। प्रदेशसभाको ४० वटा बैठकमा आचार्य सबैभन्दा कम १४ पटक मात्र उपस्थित भएको सचिवालयको रेकर्डमा उल्लेख छ। आचार्यले संसदको तीन अधिवेशन चल्दा पहिलो अधिवेशनको सुरुवाती दिनमा सम्बोधन गरेका थिए। त्यसयता उनको बोली संसदमा सुनिएको छैन। उनीपछि कम उपस्थित हुनेमा झापाका कांग्रेस सांसद ओम सरावगी पनि हुन्। उनी १५ वटा बैठकमा उपस्थित भएको देखिएको छ।

आचार्य सहित नेकपाका १५ र प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका दुई सांसद तेस्रो अधिवेशनमा एकपटक पनि प्रदेशसभाको रोष्टमममा पुगेनन्। प्रदेशसभा सचिवालयको रेकर्ड अनुसार अधिवेशनभरि संसद बैठकमा आवाज नसुनिएका नेकपाका सांसदहरुमा सुनसरीका लिलम बस्नेत र सावित्री जोशी, ताप्लेजुङका होमकुमारी साँवा, तेह्रथुमका तेजमान कन्दङ्वा, पाँचथरका गणेशकुमार काम्बाङ, पाँचथरका सीता थेबे, मोरङका ज्ञानेश्वर राजवंशी, मोरङकै यशोदा अधिकारी र लीलाबल्लब अधिकारी हुन्। यसैगरी इलामका काजिमान कागते, ओखलढुंगाका अम्बिरबाबु गुरुङ, झापाका गोपालचन्द्र बुढाथोकी, पूर्णप्रसाद राजवंशी र वसन्त बानियाँ तथा संखुवासभाकी पदमकुमारी गुरुङले पनि तेस्रो अधिवेशनमा एक पटक पनि बोलेनन्। का‌ंग्रेस संसदीय दलका उपनेता उदयपुरका हिमाल कार्की र सुनसरीका चन्द्रप्रसाद श्रेष्ठले पनि तेस्रो अधिवेशनभर बोलेनन्।

नेकपाका उदयपुरका सांसद अम्बिका थापा र विमल कार्की तथा कांग्रेसका मोरङका सांसद शिवनारायण गनगाई र सूयर्माराज राई सबैभन्दा बढी सक्रिय देखिएका छन्। उनीहरुले ९ पटक प्रदेशसभा बैठकको शून्य समय र सैद्धान्तिक छलफलमा भाग लिएका छन्। यसैगरी ओखलढुंगाका मोहनकुमार खड्का र मोरङका केदार कार्कीले ७ पटक, इलामका रामबहादुर मगर, खोटाङका राजन राई, मोरङका कुलप्रसाद साम्बा, जयराम यादव र राजकुमार ओझाले ६ पटक बोले।

इलामकी खिनु लङ्वा लिम्बू, झापाकी राधा थापा, तेह्रथुमका लछुमन तिवारी, मोरङका उपेन्द्रप्रसाद घिमिरे, सुनसरीकी उमिता विश्वकर्मा ले ५\५ पटक संसदमा बोलेको सचिवालयले जनाएको छ। नौ सांसद भने प्रदेशसभाको ३५ वटै बैठकमा उपस्थित भए।

सबै बैठकमा उपस्थित भएका सांसदहरूमा नेकपाका अर्जुन राई, उमिता विश्वकर्मा, गुलेफुन मियाँ, वसन्तीदेवि यादव, यशोदा अधिकारी, विनादेवी राई, सञ्जाकुमारी दनुवार र सावित्रीकुमारी रेग्मी छन्। कांग्रेसकी कल्पनाकुमार सरदार पनि सबै बैठकमा उपस्थित भइन्। गत माघ २० गते सुरु भएको प्रदेशसभा तेस्रो अधिवेशन ६ वटा विधेयक पारित, समितिका सभापति चयन र राजधानी तय गर्दै सम्पन्न भएको थियो। ३५ दिनमा ४० वटा बसेको बैठक ३० घण्टा १९ मिनेट सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्