देउवा भन्छन्, – पत्रकारले जे पनि लेख्न पाउँछन्


 


विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सील सम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास हुन नदिने बताएका छन् । नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको देउवाको आरोप छ ।

शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही त लेख्न आफैं पनि चाहँदैनन् नी ।’

सभापति देउवाले पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने बताए । उनले पत्रकारहरुलाई के लेख्ने के नलेख्ने भन्नेबारे सरकारले सिकाउईराख्नु नपर्ने बताए । ‘के र कुन विषयमा लेख्ने भन्ने पत्रकारलाई नै थाहा हुन्छ । जथाभावी लेखे उनीहरु आफैं सकिदैं जान्छन् । पत्रकारहरुलाई प्रधानमन्त्रीले सिकाउनुपर्दैन्’ देउवाले भने ।

केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिन्को समेत भाँच्न नसकेको टिप्पणी गरे । देउवाले भने, ‘सरकार गठन भएको डेढ बर्षको समयमा यो सरकारले सिन्को समेत भाँच्न सकेको छैन । सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिँदैन ।’

सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उनले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरूलाई मान्य नहुने चेतावनी दिए ।

नेपाली कांग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि टिप्पणी गरे । सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गरे ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्