भक्तपुरसँग विकासको तुलना अन्य कुनै पनि ठाउँसँग नहुने – सांसद महेश बस्नेत


 


भक्तपुर, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरसँग विकासको तुलना अन्य कुनै पनि ठाउँसँग नहुने बताउँदै विकासको विरोध गरेर कसैले चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिनुभएको छ ।
बालकोट सिरुटार हुँदै बिरुवा पुग्ने सडक विस्तार र कालोपत्रे गर्ने काम सोमबारदेखि सुरु भएको छ । सङ्घीय सरकारले छुट्ट्याएको ६ करोड रुपैयाँ बजेटले उक्त सडक विस्तार हुन लागेको हो । पूर्वउद्योगमन्त्री एवं भक्तपुर(२ का प्रतिनिधिसभा सांसद बस्नेतको पहलमा उक्त सडक विस्तार आयोजनको काम शुरु भएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विरोध गरी राजनीति गर्ने परम्परा पुरानो भइसकेको बताउँदै विकास निर्माणका काम गरी जनतालाई प्रत्यक्ष देखने गरी काम गर्दै राजनीति गर्न आग्रह गर्नुभएको छ ।
उपत्यकाभित्रका ३ जिल्लामा ललितपुरको सैबु भैंसेपाटी, काठमाडौँको बुढानीलकण्ठ र भक्तपुरको बालकोट क्षेत्र सम्भावनाको क्षेत्रमा रहेपनि वर्षौँदेखि बालकोट उपेक्षामा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘आजकाल त्यस्तो छैन । बालकोटको देशमा मात्र होइन । अन्तर्राष्ट्रिय रूपमै चर्चा हुन्छ । मुलुकको प्रधानमन्त्री बस्ने स्थान हो बालकोट, कुनै राजनीतिक सन्दर्भ बुझ्न परेपनि बालकोटको धारणा के रैछ भन्ने गरिन्छ । त्यो प्रधानमन्त्री केपी ओलीको निवास बालकोट भएको कारण हो । त्यसैले पनि यो ठाउँ पहिले जस्तो पछाडि पर्छ भनेर नसोचौं ।’

सांसद बस्नेतले बालकोटलाई कैलाश हिमालको संज्ञा दिँदै सिङ्गो भक्तपुर मानसरोवर रहेकोबताउनुभयो । काठमाडौँको बालकुमारीदेखि भक्तपुरको रानीकोटसम्मको भित्री बाटोको टेन्डर हुन लागेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘अरनिको राजमार्ग जोड्ने भित्री बाटो १३ वटा भन्दा बढी विस्तार भइरहेका छन्, बालकोट केन्द्रबिन्दुमा छ । अब बालकोटले बजेट खोज्नुपर्दैन । बजेटले बालकोट खोज्छ । त्यसको राम्रो सदुपयोग गरौँ ।’

भक्तपुरका भित्री सडक समेत तिव्र गतिका साथ निर्माण कार्य भइरहेको बताउँदै उहाँले समृद्ध भक्तपुर बनाउन भौतिक संरचना, पुल, ढल, खानेपानी, करिडोर तथा सडक सञ्जाल लगायतका विकास निर्माण कार्य ब्यापक रुपमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा भक्तपुरले काम गर्न सक्ने कि नसक्ने भन्ने मात्र प्रश्न हो तर भक्तपुरले बजेट खोज्ने नभई बजेटले भक्तपुर खोज्नेछ ।’
उहाँले नयाँ ठिमीको पुलदेखि बालकोट हुँदै ललितपुरको लुभु जोड्ने बाटो, बालकुमारीदेखि बालकोट हुँदै साँगा जोड्ने बाटो, नयाँ ठिमीबाटै दधिकोटको पानी ट्यांकी हुँदै बिरुवा जाने बाटो अघि बढिरहेको जानकारी गराउनुभयो । खानेपानीको अभावलाई अन्त्य गर्न मेलम्चीको पानी भक्तपुरका विभिन्न स्थानमा पुर्‍याउने गरी काम भइरहेको जानकारी गराउनुभयो ।

त्यस्तै सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यत्रम अन्तर्गत २ करोड ५० लाख रुपैयाँको कार्यक्रमको आगामी २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट उद्घाटन गर्ने कार्यक्रम रहेको बताउँदै आगामी दिनमा भक्तपुरका युवाहरु रोजगार विहिन हुने दिनको क्रमिक रुपमा अन्त्य हुँदै जाने समेत बताउनुभयो ।

सांसद बस्नेतले राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा सबैको ऐक्यबद्धता हुनुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘जितेकाले त जनताको लागि काम गर्नै पर्छ । चुनावमा हार्नेहरूले पनि काम गरेर देखाउनुपर्छ । राजनीति समाजसेवा हो । कमाउनका लागि राजनीति गर्ने होइन ।’

कार्यक्रममा प्रदेश सांसद शशिजंग थापाले सूर्यविनायकमा जता हेर्‍यो त्यतै विकासका काम भइरहेको उल्लेख गर्दै सघाउनका लागि जनमानसलाई आग्रह गर्नुभयो । सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले केन्द्र, प्रदेशसँग समन्वय गरेर नगरपालिकाले विकासका काम अघि बढाएको जानकारी दिनुभयो ।

संघिय सरकारको ६ करोडको लागत आगामी कार्तिक महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरीएको उक्त सडकको चौडाई ११ मिटरको हुने छ भने लम्वाई ९५० मिटर निर्माण गरिने भएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्