अपराध नियन्त्रणमा मोरङका एसपी केसीका सबै अभियान प्रभावकारी


 


विराटनगर, जेठ १४

एसपी (प्रहरी उपरीक्षक) मनोजकुमार केसी मोरङ प्रहरी प्रमुख हुन् । प्रहरी संगठन भित्र उनलाई बौद्धिक अधिकृतका रुपमा पनि चिनिन्छ ।
हाल उनको मोरङबाट प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय काठमाडौं सरुवा भएको छ । प्रहरीमा नौलो एवं प्रभावकारी र तत्कालै नतिजा दिइहाल्ने अभियान भित्राउने तथा त्यसलाई कार्यान्वयनमा ल्याइहाल्ने क्षमता उनमा छ । नयाँ र परिस्कृत अभियानका परिकल्पनाकार एसपी केसीले मोरङ प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याए । ती मध्ये आधा दर्जन अभियान अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण रहे ।

संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका केसी मोरङमा आफ्नो कार्यकाल विशेष र सफल रहेको बताउँछन् । स्वच्छ छवि, भद्र र सालिन स्वभावका उनको कार्यकाल सफल हुनुमा डीएसपीहरु घनश्याम श्रेष्ठ, नवराज ढुंगाना लगायतका प्रहरी अधिकारीको साथ महत्वपूर्ण रहयो । प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ । प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका एसपी केसी नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् ।

कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो । कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त गुण्डागर्दी, अन्य अपराध, सीमा अपराध, मानव बेचबिखन, चोरी तस्करी नियन्त्रण गरेर केसी चर्चामा रहे ।

त्यस्तै बहुचर्चित विराटनगरको बालिका रुपमति दास हत्या प्रकरण, पथरीमा रिना बस्नेत मृत्यु प्रकरण लगायतका ठूला र जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धानले पनि उनको अपराध नियन्त्रण र अनुसन्धान गर्ने क्षमता अब्बल छ भन्ने सावित गरेको सरोकारावालाहरु बताउँछन् । भारतबाट अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागुऔषध नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रहयो ।
केसीकै पालामा मोरङ प्रहरीले सञ्चालन गरेका अभियानहरु अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् । समुदायसँग चिया, लागुऔषध नियन्त्रण, मापसे (मादक पदार्थ सेवन) परीक्षा र नागरिकलाई सेवा प्रवाह कार्ड समेतका अभियान बढी प्रभावकारी देखिएका हुन् । ती बाहेक मोरङ प्रहरीले सञ्चालनमा ल्याएको एप्स, नागरीक सूचना कार्ड, इन्टरकम टेलिफोन सेवा, प्राथमिकताका सेवा, अन्तरक्रियात्मक साइकल गस्ती समेतले प्रहरीका काम कारवाहीमा मद्धत पुगिरहेको छ । अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ ।

नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणमा प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणले सुरक्षित महसुस गर्न सकेको नागरिक अगुवा रामबाबु दाहालको भनाइ छ । उनले सबैसँग समन्वय गर्दै सञ्चालन गरिएका सकारात्मक अभियान महत्वपूर्ण रहेको र यी अभियानलाई प्रहरीले निरन्तरता दिइनु पर्नेमा जोड दिए । नागरिक मैत्री फलदायी अभियानको सर्वत्र चर्चा भएको र अभियानलाई सबैले साथ दिएको नागरिक अगुवा दाहालले बताए । भने, ‘अभियानले समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख हुन र अपराधरहित समाजको निर्माण गर्न मद्धत पनि पुगेको छ ।’

सामाजिक प्रकृतिका अपराध न्यूनीकरण गर्ने उदेश्यले २०७५ भदौ ८ गतेबाट समुदायसँग अनौपचारिक संवाद निरन्तर गर्ने गरी महिनाको २ पटक नागरिकसँग चिया कार्यक्रम सञ्चालन गरिएको एसपी केसीको भनाइ छ । उनले प्रहरीका विभिन्न युनिटमार्फत हालसम्म १ सय ३४ पटक कार्यक्रम सञ्चालन गरी ७ हजार ३ सय ६९ जनासँग प्रत्यक्ष संवाद गरिएको बताए । यसमा प्रहरीका काम कारवाही, जनमानसमा रहेका असन्तुष्टि, आगामी दिनमा प्रहरीले गर्नु पर्ने काम तथा समाजमा हुने अपराध नियन्त्रण आदिका बारेमा छलफल भएको उनले बताए ।
लागुऔषध दुव्र्यसन, ओसारपसार, खरिद बिक्री जस्ता अपराधबाट युवा जमातलाई मुक्त बनाउने उदेश्यले भारतीय सीमावर्ती क्षेत्रमा प्रहरीले २०७५ भदौ २५ बाट लागुऔषध विरुद्धको विशेष अभियान सुरु गरेको थियो । हालसम्म १ हजार ६ सय ७८ जना दुव्र्यसनीलाई कोसी अस्पतालका विशेषज्ञ चिकित्सक र प्रहरीको संयुक्त टोलीले काउन्सिलिङ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
अपराध सूचना प्राप्ती र प्रहरी परिचालनका लागि २०७५ असोज ४ गतेबाट मोरङ प्रहरी एप्स सञ्चालनमा आयो । यसले समाजमा भइरहेका घटना, अवैध काम र हुन सक्ने सम्भावित घटनाका बारेमा तत्काल खवर प्राप्त हुँदा हुन सक्ने घटना नियन्त्रण तथा अपराधमा संलग्नलाई पहिचान तथा पक्राउ गर्न सहयोग पुगेको डीएसपी श्रेष्ठले बताए ।

प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन चलाए अनिवार्य लिखित परीक्षा दिनु पर्ने नियम २०७५ असोज २४ गतेबाट मोरङमा लागू गरेको थियो । ८० प्रतिशत अंक ल्याएर परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्राफिक नियम अनुसार कारवाही गरेर मापसे गर्ने चालकलाई सवारी साधन र कागजपत्र फिर्ता दिने नियम एसपी केसीले बनाएका हुन् । डीएसपी श्रेष्ठका अनुसार हालसम्म त्यस्ता दुई हजार छ सय एक जना चालकले जिल्ला प्रहरी कार्यालय मोरङमा परीक्षा दिएका छन् । मापसेका कारण अत्यधिक दुर्घटना हुने गरेको पाइएपछि दुर्घटना न्यूनीकरण गर्न र सवारी चालकमा सचेतना फैल्याउन लिखित परीक्षा लिन थालिएपछि मापसेकै कारण हुने दुर्घटना हुन नपाएको प्रहरीको भनाइ छ ।
प्रहरीले एक वर्षको अवधिमा मोरङका ५५ हजार ४ सय ५६ घरधुरीमा जनचेतनामुलक नागरिक सूचना कार्ड वितरण गरेको छ । जसमा उल्लेख गरिएको प्रहरी अधिकारी र प्रहरी कार्यालयको सम्पर्क नम्बरमा कुनै घटना भएमा वा हुन लागेमा सर्वसाधारणले सिधै सम्पर्क गर्न मिल्ने व्यवस्था गरिएको छ । कार्ड अपराध नियन्त्रण र अनुसन्धानमा निक्कै प्रभावकारी बनेको छ ।

त्यस्तै सेवाग्राहीलाई लक्षित गरेर प्रहरीले ५ प्रकारको सेवा प्रवाह कार्डको व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालयमा काम विशेषले पुग्ने सेवाग्राहीले आफ्नो काम अनुसारको कार्ड अनिवार्य प्रयोग गर्नु पर्ने र यसले सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको डीएसपी श्रेष्ठको भनाइ छ । डेढ महिनाको अवधिमा मंगलबारसम्म २ हजार २ सय २३ जना सेवाग्राहीले कार्डको प्रयोग गरिसकेका छन् ।
मोरङमा नागरिक सहायता कक्षबाट अशक्त, अपांगता भएका, वृद्धवृद्धा र गर्भवतीहरूका लागि जाहेरी, घाउ जाँच केश फारम, सीआरएस सम्बन्धी सेवा, कानुनी परामर्श, आवश्यक मुचुल्का लगायतका सम्पूर्ण सेवा निःशुल्क गरिएको छ । प्रहरीले सञ्चालन गरेको अन्तरक्रियात्मक साइकल गस्तीले पनि शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउँदै लगेको सरोकारवालाहरु बताउँछन् । साइकलमा गस्तीमा निस्कने प्रहरीले समुदायसम्म पुगेर त्यहाँका समस्या र अवस्थाका बारेमा बुझेर त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाउन मद्धत गर्ने गरेको एसपी केसीले बताए ।

अदालतले दोषी ठहर गरे पनि फरार रहेका ४ सय ८६ जना प्रतिवादी एक वर्षको अवधिमा मोरङमा पक्राउ परेका छन् । पक्राउ परेकाबाट ८७ लाख ११ हजार ६ सय ६० रुपैयाँ जरिवाना असुल भएको छ ।
‘विभिन्न अभियानले कुनै पनि घटनाको प्रहरीमा तत्काल सूचना प्राप्त हुने गरेको छ । प्रहरी कार्यालयमा सबै सर्वसाधारणको पहुँच सहज बनेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘अभियानले अपराधमा संलग्नलाई पक्राउ र पहिचान गर्न सजिलो भएको छ । यसले शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन महत्वपूर्ण भूमिका खेलेको महसुस गरिएको छ ।’

यी हुन् एसपी केसी सफल हुनुका कारण

मोरङ प्रहरी प्रमुख रहेका बेला एसपी केसीलाई धेरै प्रहरी अधिकारीको साथ रहयो । जवानदेखि डीएसपीसम्मले गरेको सहयोग र माथिल्लो स्तरका प्रहरी अधिकारीकै सहयोगले केसी सफल बनेका हुन् ।  डीएसपी घनश्याम श्रेष्ठ मोरङ प्रहरीका प्रवक्ता हुन् । जिल्ला भरी हुने विभिन्न घटनाका बारेमा ‘अपडेट’ भएर त्यसका बारेमा सार्वजनिक गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारीमा श्रेष्ठ छन् । सालिन र भद्र स्वभावका श्रेष्ठ हरेक कुरालाई गहन ढंगले सोचेर र विश्लेषण गरेर मात्रै बाहिर ल्याउँछन् । कुन कुराले दूरगामी असर पार्छ भन्ने कुरामा उनी ख्याल गर्छन् । प्रहरी कार्यालयमा आइपुग्ने अनेक झमेला र लफडाको निकास खोज्ने जिम्मेवारी पनि उनकै काँधमा छ । विराटनगर–८ की ११ वर्षीय रुपमति दासको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ र पहिचान गर्न एसपी केसी र डीएसपी श्रेष्ठको भूमिका महत्वपूर्ण छ ।

भर्खरै जिल्ला प्रहरी कार्यालय मोरङमा आएका डीएसपी नवराज ढुंगाना अनुभवी प्रहरी अधिकृत हुन् । वैशाख ७ गते विहान पथरीशनिश्चरे नगरपालिका–१ मा मृत फेला परेकी रिना बस्नेतको मृत्यु प्रकरणबाट उत्पन्न परिस्थितिलाई साम्य पार्न र त्यसबाट हिंसा भड्कन नदिन ढुंगानाले खेलेको भूमिका प्रशंसा योग्य छ । उनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा काम गरेको अनुभव छ । पथरी काण्डलाई आफ्नो स्वार्थसँग जोडेर मच्चाउन खोजिएको हुलदंगा र भड्काउन खोजिएको हिंसा रोक्न ढुंगाना सफल बने । मोरङ आएको केही दिनमै भएको घटना र त्यसपछि उनले खेलेको भूमिकालाई लिएर प्रहरी अधिकारीले ढुंगानाको प्रशंसा गरेका छन् ।
प्रहरीले महत्वपूर्ण भूमिका खेल्दा र सावधानी अपनाउँदा पथरीमा अर्को घटना हुन पाएन । इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर कमल बजगाईं पनि अनुभवी प्रहरी अधिकृत हुन् । बजगाईंकै पालामा रिना बस्नेतको मृत्यु भएको हो । विगतमा उनले गरेका कारवाही र विभिन्न अपराधिक घटनालाई उन्मुक्ती दिने हिसावमा आएका दबाबलाई वास्ता नगरिकन कानुन अनुसार अघि बढेका उनको सरुवा गराउन आन्दोलनका नाममा यस घटनालाई जोडेर विवादित बनाउने काम भएको रिनाका आफन्त र परिवारका सदस्य बताउँछन् । आन्दोलनका नाममा भएको अराजकताका कारण रिनाका आफन्त र परिवारका सदस्य रुष्ट बने ।

भारतसँगको सीमावर्ती क्षेत्र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर राना पनि अनुभवी प्रहरी अधिकृत हुन् । भद्र र सालिन स्वभावका उनी हरेक घटनालाई कानुन सम्वत हिसावमा निवारण गर्नु पर्ने बताउँछन् । नेपाल–भारत सीमा क्षेत्रमा हुने गरेका चोरी तस्करी, सीमा अपराध, मानव बेचबिखन लगायत अन्य अपराधिक गतिविधी नियन्त्रणमा उनको भूमिका प्रशंसा योग्य छ । कानुन बाहिर गएर कुनै पनि अवैध काम र अपराधिक गतिविधीलाई छुट दिन हुँदैन र कानुन अनुसार नै अघि बढ्नु पर्छ भन्ने स्वभावकै कारण अपराधिक घटना धेरै हुने सीमा क्षेत्रमा उनको नेत्रृत्व अपराध अनुसन्धान र नियन्त्रणमा सफल बनेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिना गुण्डागर्दी र अपराध नियन्त्रणमा सवालमा अगाडि छन् । विभिन्न ठाउँबाट आउने राजनैतिक दबाब नमानेकै कारण उनको एक पटक सरुवा गराउने खेल पनि भएको थियो । तर आम सर्वसाधारणमा राम्रो काम गरेर कहलिएका उनको दबाबपूर्ण सरुवा सफल हुन सकेन । अन्तत सरुवा रोकियो । हतियार बरामद, वन जंगल तस्करी, फरार प्रतिवादी पक्राउ लगायतमा उनको भूमिका महत्वपूर्ण छ । समुदायसँग राम्रोसँग भिज्ने गरेका कारण पनि उनी सो क्षेत्रमा सबैको प्रिय बनेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर रामकुमार राई पनि अनुभवी प्रहरी अधिकृत हुन् । कुनै पनि घटनाले उत्पन्न गराउन सक्ने तनाव र परिस्थितिलाई तत्कालै आंकलन गर्न सक्ने क्षमताका उनी नेकपा नेताले आफ्नी प्रेमिकाको हत्या गरेर शव सप्तकोसी नदीमा फ्यालेको घटनाको सफल अनुसन्धान गरेपछि चर्चामा छन् । त्यस्तै कुनै पनि हिसावमा गुण्डागर्दी र अपराधलाई प्रसय दिन हुँदैन र तत्कालै कारवाहीको दायरामा ल्याहाल्नु पर्छ भन्ने मान्यता उनमा छ ।

रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्की पुराना र मोरङसँग चिरपरिचित प्रहरी अधिकृत हुन् । फरार प्रतिवादी पक्राउमा रंगेली प्रहरी जिल्लामै अगाडि छ । त्यस्तै इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर योगराज खतिवडा नयाँ प्रहरी अधिकृत भए पनि उनको काम गराई अनुभवी र पुराना प्रहरी अधिकृतको भन्दा भिन्न छैन । उनी उर्जाशील युवा प्रहरी अधिकृत हुन् । यी नै सफल र अनुभवी एवं दक्ष प्रहरी अधिकृतको सहयोग तथा साथका कारण एसपी केसीको कार्यकाल मोरङमा सफल बन्यो ।

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्