बझाङ जीप दुर्घटना : दश जनाको सामुहिक अन्त्येष्टी


 


धनगढी : बझाङमा जीप दुर्घटनामा परि मृत्यु भएका दश जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ । दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारहरुको क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तहरुले परम्परा अनुसार आफ्नो मसानघाटमा दाहसंस्कार गरेका हुन् ।

जिल्ला अस्पताल सिमखेतबाट मृतक दश जनाको शवयात्रामा सदरमुकामवासी, मृतकका आफन्त र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । दश जनाको लामबद्ध शव यात्रामा आफन्त र अन्य मानिसहरुको रुवाबासी थियो ।

जिल्लामा यस्तो अप्रिय घटना कहिले पनि भएको थिएन र अब कहिले पनि यस्तो नहोस् शव यात्रामा सहभागि रामचन्द्र रोकायाले यो घटनाबाट पाठ सिकेर अब यस्तो घटना दोहोरिन नदिन सरकारले नीति बदल्नुपर्ने बताए ।

सोमबार भएको जीप दुर्घटनामा मृत्यु भएका एकै परिवारका बुवा कलक खड्का र आमा जुनधारा खड्कालाई छोरा सन्देश खड्काले दागबत्ती दिए । सन्देशका भाई सरोज खड्का र विपना खड्काको शव गाडिएको थियो ।

५० वर्षीया घौलीदेवी खड्का र छोरा हिक्मत खड्कालाई उनका छोराले भारतबाट आएर दागबत्ती दिएका थिए । साथै मृतक जुना खड्कालाई पनि उनका छोराले दागबत्ती दिएका थिए ।

कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाउँमा मृतक दुई जना गरी नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर मसानघाटमा सामूहिक अन्त्यष्टी गरिएको थियो ।

रनाडा गाउँका मृतक लक्ष्मी द्वाल र भक्त द्वालको पनि आफन्तहरुले दागबत्ती दिएर दाहसंस्कार गरेका थिए । नौ जनाको धौलाबगर मसानघाटमा अन्त्यष्टी गरिएको छ भने जीपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँको कपडेमा अन्त्यष्टी गरिएको थियो ।

शवयात्रा देखि अन्त्यष्टीसम्म एक हजार भन्दा बढी मानिसहरु सहभागि थिए । अन्त्येष्टीमा सहभागि भएका मानिसहरुले यसरी मसानघाटमा दश जनाका शव जलिरहँदा सबैका आँखा रसाएका थिए । मृतकहरुको दाहसंस्कारमा जनप्रतिनिधीहरु, पार्टीका नेताहरु, कर्मचारीहरु समेत सहभागी थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यो घटनाले आफूलाई साह्रै दुःख लागेको बताउँदै अबका दिनमा यस्तो घटना नदाहोरिनका लागि आफूले जिल्ला भरिका सबै यातायात व्यवसायीहरु, चालकहरु, सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने बताए ।

यो घटनाले जिल्ला नै शोकाकुल भएपछि मष्टा गाउँपालिकाले बुधबार औपचारिक रुपमा गाउँपालिका भित्र सार्वजनिक विदा दिएको थियो ।
मृतक परिवारको क्षतिपूर्तिका लागि जीप साहुले मृतक परिवारलाई तीन–तीन लाखका दरले दिने सहमति भएको छ ।
जीप दुर्घटनामा परि घाईते पाँच जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्