केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनलाई पूर्णता दिने तयारी


 


काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनको एकतालाई पूर्णता दिने तयारी शुरु गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सचिवालय बैठक बोलाउने निर्णय भएको जनाइएको छ ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो भएको दुई घण्टा लामो भेटवार्तामा सचिवालय बैठक बोलाउने निर्णय गरेका छन् । सरकार र पार्टी विरोधी अभियान तिव्र भईरहदा पनि नेतृत्वले पार्टीका संयन्त्र परिचालन गर्न नसकेको भन्दै चर्को आलोचना भईरहेका बेला सचिवालय बैठक बोलाइएको हो । एकतालाई अन्तिम रुप दिए लगत्तै देशैभर जागरण अभियान संचालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

‘शुक्रबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकिएको छ’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘अब सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन सक्छ ।’ प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठकमा पोलिटव्यूरो गठन, बाँकि रहेको पार्टी एकता प्रक्रियाबारेमा छलफल हुनेछ । त्यस्तै नेकपा राजनीतिक प्रतिवेदन अझै छापिन सकेको छैन् । शुक्रबारको बैठकले राजनीतिक प्रतिवेदन पनि टुंगो लगाउने छ ।

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्