१८ बर्षपछि जोमसोम विमानस्थलमा कालोपत्रे, दिइयो नयाँ स्वरुप


 


मुस्ताङ । मुस्ताङमा पर्यटकको चाप बढेपछि हवाई यात्रुलाई ध्यानमा राखेर जोमसोम विमानस्थलको आवश्यक सुधार कार्य र कालोपत्रे गर्ने कार्य लगभग सम्पन्न भएको छ । विमानस्थलको ८ सय १५ मिटर लामो धावनमार्गमा १८ बर्ष पछि कालोपत्रे गरिएको छ भने कालीगण्डकी नदी नियन्त्रणका लागि तटबन्ध समेत निर्माण गरिएको छ ।

सडक सञ्जालमा जोडिएपनि मुस्ताङ जाने हवाई पर्यटकको चाप झनै वृद्धि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ९ करोड १२ लाख ६८ हजार रकम खर्चिएर सुधार कार्यसंगै कालोपत्रेको काम अघि बढाएको हो ।

गत बर्षको कात्र्तिक महिनाबाट कालोपत्रेको जिम्मा पाएको एपेक्स कन्स्ट्रक्सनले तोकिएको मितिभन्दा ४ महिना अगावै निर्माण कार्य सम्पन्न गरेको छ । एपेक्स कन्स्ट्रक्सनले बिमानस्थल सुधारसंगसंगै ३५ मिटर बराबरको कालीगण्डकी नदी नियन्त्रणको लागि तटबन्ध निर्माण, धावनमार्ग आसपास ढल निर्माण, पर्खालसहित तारबार निर्माण र ट्याक्सीवे लगायतका सम्पूर्ण कार्य लगभग सम्पन्न भएको आयोजना प्रमुख तथा इञ्जिनियर कृष्णप्रसाद पौडेलले बताउनुभयो । पूरानो धावनमार्गको करिब २ सय १५ मिटर खण्डलाई सम्याउने काम भएको र हिमाली जिल्लाका विमानस्थलहरु मध्ये स्तरीय काम भएको पनि पौडेलको भनाइ छ ।

यसैगरी एपेक्स कन्स्ट्रक्सनका प्रमुख प्रतिनिधि सकबहादुर लालचनले अत्याधिक हिमपातकाबीच पनि निर्धारित समय भन्दा ४ महिना अघि काम सम्पन्न गरेको बताउनुभयो । उहाँले धावनमार्गमा मार्किङ लगायत केही काम बाँकी रहेकोले अर्को सातादेखि विमानस्थलमा नियमित उडान भर्ने व्यवस्था पनि मिलाइने बताउनुभयो ।

विमानस्थलले नयाँ स्वरुप ग्रहण गरेपछि स्थानीय एवं पर्यटन व्यवसायी हर्षित देखिएका छन् । सदरमुकाम जोमसोमस्थित अगुवा पर्यटन व्यवसायी मोहनकुमारी गौचनले विमानस्थलको सुधार कार्य संगै सदरमुकाम आसपासका होटलहरुमा चहलपहल बढ्ने भन्दै हर्ष प्रकट गर्नुभयो ।

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्