चौधरीलाई नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन


 


काठमाडौं । राजपा नेता तथा निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर वीर अस्पतालमा उपचार गरिएको सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । शनिबार प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको पुष्टी गरे ।

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।

चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपा का नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्