राम्रो छवि प्रस्तुत गर्न नसकेका डीआईजी रिजाल अन्तिमसम्मै विवादित


 


विराटनगर । प्रदेश १ को प्रहरी प्रमुख भएदेखि राम्रो र स्वच्छ छवि प्रदर्शन गर्न नसकेका डीआईजी केदार रिजाल अन्तिम समयमा पनि विवादमा परेका छन् ।

रुखो बोली, तल्ला स्तरका कर्मचारीमाथिको सोशषण र अरुलाई सम्मान गर्न नजान्ने संस्कार उनका लागि घातक बने । १३ महिना प्रदेश १ प्रहरी प्रमुख सम्हालेका उनी शुक्रबार प्रदेशको स्थायी राजधानी विराटनगरमा रहेको आफ्नो कार्यालयबाट बाट विदा हुँदै गर्दा झन् विवादित बने । भारतबाट कुखुरा तस्करी गर्ने गरेको आरोप खेप्दै आएका विवादस्पद कुखुरा व्यवसायी राजकुमार कार्कीको बा १५ च ८४६३ नम्बरको कारमा चढेर झापाको काँकडभिट्टा नाकामा पुगेपछि यो प्रकरणले रिजालले ठूलो विवादको भूमरीमा पारिदियो । कार्की पूर्व क्षेत्रमा कार्यरत प्रहरीका उच्च अधिकारीलाई जतिसक्दो चाँडो आर्थिक एवं विभिन्न खाले प्रभावमा पार्न सक्ने व्यवसायी हुन् ।

भारतबाट कुखुरा, अण्डा, चल्ला र दाना नेपाल ल्याउन सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर त्यही प्रतिबन्धित वस्तु ‘सेटिङ’ मिलाएर निर्वाध रुपमा ल्याउने छुट कार्कीलाई रहेको र डीआईजी रिजालकै निर्देशनमा नेपाल भित्रिने भारतीय कुखुरा बोकेका कार्कीका गाडीमाथि निगरानी सीमा क्षेत्रमा नहुने गरेको एक प्रहरीले बताए । उनका अनुसार पहिलेदेखि नै रिजालसँग कार्कीको राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धले गर्दा कार्कीलाई भारतबाट प्रतिबन्धित कुखुरा, अण्डा, चल्ला र दाना नेपाल ल्याउन जुनसुकै समयमा पनि छुट हुने गरेको प्रहरी स्रोतले बतायो ।

‘प्रहरीका नयाँ प्रमुखलाई तत्कालै प्रभावमा पारेर आफ्नो धन्दा चलाउन कार्की माहिर छन्,’ स्रोतले भन्यो, ‘डीआईजी रिजालसँगको शुक्रबारको उठबस पनि त्यसकै नतिजा हो ।’ प्रहरी संगठनलाई स्वच्छ रुपमा अगाडि बढाउनु पर्छ भन्ने अधिकारीले नै विवादस्पद व्यवसायीसँग संगत बढाएको भन्दै प्रहरी भित्र असन्तुष्टि चुलिएको छ । सुरुदेखि विवादमा पर्दै आएका डीआईजी रिजालले अन्तिमसम्म पनि असल आचरण प्रस्तुत गर्न नसकेको र विदाई भएर कार्यक्षेत्रबाट जाने बेलामा खुलेआम गलत व्यवहार देखाएको भन्दै उनको आलोचना हुन थालेको छ ।

व्यवसायी कार्कीकै गाडीमा काँकडभिट्टा पुगेपछि दुवै जना सिलिगुडी जाने भन्दै भारतीय नम्बर प्लेटको अर्को गाडीमा भारततर्फ लागेका थिए । कार्कीको गाडी भने शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको थियो ।सरुवा भएर काठमाडौं जानु पर्नेमा विवादस्पद व्यक्तिको साथ लागेर सिलिगुडी जानुलाई शंकास्पद रुपमा र कौतुहलताका साथ हेरिएको छ । दुवै जना दिउँसो लगभग ४ः३० बजे नेपाल फर्किएर त्यही गाडीमा इटहरीसम्म आए । डीआईजी रिजालले प्रयोग गर्दै आएको बा १ झ ९६३७ नम्बरको सरकारी गाडी भने शुक्रबार दिनभर प्रदेश प्रहरी कार्यालयमै छाडिएको थियो ।

झापाबाट फर्कदै गरेको जानकारी पाएपछि साँझ ५ बजे रिजाल चढ्ने गाडी चालक नेपाल प्रहरीका असई डाक्टरबाबु दनुवारले इटहरी पु¥याएका थिए । त्यसपछि कार्कीको गाडी छाडेर साँझ ७ बजे रिजाल आफ्नै गाडीमा चढेर इटहरी पश्चिम लागे ।
नेपालका प्रहरीका प्रवक्ता अर्का डीआईजी विश्वराज पोखरेलले गलत व्यक्तिसँग प्रहरी अधिकारीको संगत बढाउने र साथमै घुमफिरमा हिंड्न नहुने बताए । त्यसले व्यक्ति र संगठनलाई नै ठूलो असर गर्ने उनको भनाइ छ ।

शुक्रबार दिउँसो टेलिफोन सम्पर्कमा डीआईजी रिजालले भने आफू काठमाडौं गएको र सिन्धुली पुगिसकेको भनेर ढाँटेका थिए । तर त्यतिबेला उनी भारतीय भूमिबाट नेपाल फर्कने तयारी गर्दै थिए । उनले आफ्नो गाडी नलगेको र अरु नै सरकारी गाडीमा काठमाडौं गएको दाबी गरे । केही आवश्यक कागजपत्र आइनपुगेका कारण आफ्नो गाडी भने छाडेर जानु पर्ने अवस्था आएको उनको जिकिर थियो । ‘म कोही पनि विवादित व्यक्तिको गाडीमा चढेको छैन । प्रदेशको प्रहरी प्रमुख हुन जेलसम्म पनि अवैध कामलाई निरुत्साहित गर्दै इमान्दारितासँग काम गरें,’ रिजालको दाबी थियो, ‘आजसम्म नराम्रो धन्दामा लागेका कोही कसैसँग मैले संगत गरेको छैन । व्यवसायी कार्की विवादित व्यक्ति हुन् भन्ने लाग्दैन ।’

यही जेठ ३१ गते प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय काठमाडौंमा सरुवा भएपछि उनी शुक्रबारबाट औपचारिक रुपमा प्रदेश १ बाट विदा भए । उनको ठाउँमा सरुवा भएका डीआईजी ठाकुरप्रसाद ज्ञवाली विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा आइतबार हाजिर हुँदैछन् । विशेष गरेर नयाँ प्रमुखको स्वागत गर्दै सबै कुराको बरबुझारथ गरिसकेपछि मात्रै पुराना प्रमुख विदा हुने प्रचलन तोड्दै ज्ञवाली नआइकन रिजालले प्रदेश १ छाडेका हुन् । साभार : पूर्वेली न्युजबाट 

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्