लगातार ३ दिन देशभर भारी वर्षाको सम्भावना


 


काठमाडाैँ, असार २३

देशभर मनसुन सक्रिय भएकाले आजदेखि लगातार ३ दिनसम्म मध्यमदेखि भारीसम्म वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार यो तीन दिन बाढीपहिरो पनि जानसक्ने खतरा रहेकाले जोखिम क्षेत्रका बासिन्दाले होसियारी अपनाउनु आवश्यक छ।

रिमालका अनुसार आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज मेची, बिरिङ्ग, निन्दालगायत झापा, मोरङ्ग, सुनसरी, इलामबाट बहने साना नदीहरु केहीमा वहाव सतर्कता तहसम्म पुग्न सक्ने जनाएको छ ।

बाढीमा सतर्कता अपनाउन महाशाखाले जारी गरेको बुलेटिनमा सुदूर पश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही ससाना नदीहरुमा समेत आकष्मिक वहाव हुने सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसपटक १० दिन ढिला गरी जुन २० तारिखमा मनसुन नेपाल भित्रिएकाे हाे। त्यसयता पहिलाेपटक हिजाे आइतबारदेखि मनसुन देशभर सक्रिय बनेकाे माैसमिवद् रिमालले बताए।

भारतमा रहेको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) उत्तर (नेपाल) तर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि तीव्र बनेको मौसमविद् हरुले जनाएका छन् ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्