फेरी सुरु भो श्रम ऐनअनुसार तलब नपाएको भन्दै कर्मचारी आन्दोलित



बर्दिबास–सरकारले तोकेको श्रम ऐनअनुसार तलब भत्ता नपाएको भन्दै सागरनाथ वन विकास परियोजनामा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु आन्दोलित भएका छन् । हाल सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा वन क्षेत्र रहेको छ ।

सागरनाथ वन परियोजनामा विगत १३ देखि ३० वर्ष सम्म दैनिक ज्यालादारीमा१ सय ४० श्रमिकहरु कार्यरत रहेका छन् ।

उनीहरुले श्रम ऐन २०७४ अनुसार आधारभूत सेवा सुविधा नपाएको बताएका छन् । उनीहरुले श्रम ऐन २०७४ को दफा १० अनुसार रोजगार सम्झौता समेत भएको बताएका छन् । श्रमिकहरुले विदा तथा सुविधा श्रम ऐन अनुसार पाउनु पर्ने, अतिरिक्त कामको पारिश्रमिक दिनु पर्ने, सञ्चय कोष, उपदान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषका साथसाथै चार्डपर्व खर्च पाउनु पर्नेे लगायतका ५ बुँदे माग राखेका छन् ।

सागरनाथ वन विकास परियोजना मजदुर युनियनका अध्यक्ष सन्तोष साहले गत बिहीबारदेखि आफूहरुले चरणबद्ध आन्दोलन थालेको भन्दै बुधबार (असार २५ गते) सम्मपनि माग पूरा नभए गेटमा ताल्चा लगाई सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिए ।

वन पैदावार विकास समितिका अध्यक्ष चन्द्रमान डंगोलले हाल सागरनाथ वन विकास परियोजना र रसुवामाई वन विकास आयोजना दुवै वन पैदावार विकास समिति अन्तर्गत रहेको र हाल वन पैदावार विकास समिति विघटन भैसकेकाले मजदुरको समस्याको आफूहरुले समाधान गर्न नसक्ने बताए ।

उनका अनुसार वन पैदावार विकास टिम्बर कोर्पेशन अफ नेपालको मातहतमा गइसकेकाले श्रमिकको समस्या समाधानको लागि नयाँ संस्थाले पहल लिने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News