मन्त्रीहरूको अन्तर्वार्ता लिँदै प्रधानमन्त्री !


 


काठमाडौं । भारतबाट तरकारी तथा फलफूल पैठारी गर्दा भन्सार विन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवेशष परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्यो भन्ने आरोप खेपिरहेका बेला मन्त्रिपरिषद् बैठक तारन्तार बसिरहेको छ । सोमबार साँझ बसेको बैठकपछि मंगलबार बिहान पनि बस्यो । र, आज साँझ पनि मन्त्रिपरिषद् बैठकले निरन्तरता पाउने कानुनमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

सोमबारबाट शुरू भएको मन्त्रिपरिषद् बैठकमा झण्डै ७० वटा अजेण्डा प्रस्तुत भएको बताइएको छ । ती विषयमा आवश्यक निर्णय लिनुपर्ने भएकाले बैठक लम्बिरहेको प्रधानमन्त्रीको सचिवालय बताउँछ ।

“आर्थिक वर्षको अन्तिमतिर आइपुगेकाले मन्त्रालयको समष्टिगत समीक्षा हुन बाँकी छ । राष्ट्रिय गौरवका आयोजना र अरू विकास आयोजनाको पनि समीक्षा भएको छैन,” प्रधानमन्त्रीको सचिवालयको भनाइ छ, “सरकारको एक वर्षे कार्यप्रगतिको वस्तुगत समीक्षा गर्नुपर्ने विन्दूमा सरकार आइपुगेकाले मन्त्रिपरिषद् बैठक लम्बिरहेको छ ।”

स्रोतका अनुसार सोमबार अपराह्न नै मन्त्रिपरिषद् बैठक शुरू भए पनि अजेण्डामात्रै प्रस्तुत भयो । छलफल आरम्भ हुनेबित्तिकै राष्ट्रपतिसँग भेटवार्ताका लागि समय निर्धारण भएकाले प्रधानमन्त्री केपी ओली शीतलनिवासतिर लागे । बैठक मंगलबार बिहानसम्मका लागि स्थगित भयो ।

मंगलबार बिहान बसेको बैठकमा पनि विषयमा राम्ररी छलफल हुन पाएन । संसदमा मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले त्यसैको तयारीका लागि भन्दै समय छोट्याइयो । बाँकी विषयमा छलफल गर्न मंगलबार साँझ पनि बैठकले निरन्तरता पाउने सचिवालयको भनाइ छ ।

बुधबारबाट मन्त्रीहरूको अन्तर्वार्ता लिँदै प्रधानमन्त्री !

मन्त्रीहरूको एकवर्षे कार्यप्रगतिका बारेमा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट विभागीय मन्त्रीहरूको अन्तर्वार्ता लिँदैछन् । चालु आर्थिक वर्षको शुरूआतमा मन्त्रीहरूले एकवर्षे कार्ययोजना पेस गरेका थिए । बुधबार र बिहीबार तिनै योजनाको कार्यप्रगति बुझ्ने र सरकारको कामको वस्तुनिष्ठ समीक्षा गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

“मन्त्रीहरूले एकवर्ष केके काम गर्नुभयो, केके गर्न सक्नुभएन, विकास आयोजनाको प्रगति कस्तो छ, आगामी वर्षको कार्ययोजना के छ भनेर प्रधानमन्त्रीले मन्त्रालयगत रूपमा बुझ्नुहुनेछ,” प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्