नेविसंघले प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार दिए पछी …


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत मंगलबार प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो ।

भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
गत आइतबार नेविसंघले मंगलबार देशभरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरिएको थियो । आन्दोलनअन्तरगत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो ।

बुधबार विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने नेविसंघले जनाएको छ । नेविसंघले असार २६ गते मसाल जुलुस र असार २७ गते मइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्