ओली सरकार विरुद्ध सर्वोच्चमा रिट दायर


 


काठमाडौं, असार २४ : भारतबाट आउने तरकारी र फलफूल विषादी परीक्षण नगरी भित्र्याउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार सरकारको निर्णयविरूद्ध छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।

सीमामा तरकारी र फलफूलको विषादी परीक्षण गर्ने विषयमा मन्त्रिपरिषद्को यही असार १९ गतेको बैठकले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो। सरकारको सोही निर्णय रोक्न रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको छ।

सरकारको निर्णय र भन्सारमा तत्काल परीक्षण व्यवस्था गर्नु माग गर्दै विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जनस्वाथ्यका रुपमा गलत भएको उल्लेख छ।

नेपालको संविधानले सुरक्षित गरेको खाद्यको मौलिक हक भएको हुँदा विषादीयुक्त खानाले स्वास्थ्यमा विभिन्न समस्याहरु देखापर्ने हुँदा सबै नागरिकको मौलिक हकविरुद्ध सरकारको निर्णय भएको उल्लेख छ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्