जहाँका वासिन्दा वर्षामा पानी नपर्दा खुुसी मनाउछन्


 


इटहरी । अहिले पानी नपरेका कारण कृषकहरु निराश छन् । शनिबार मात्र मोरङ रङ्गेली ७ मा पानी परोस् भनेर स्थानीयले भ्यागुताको विहे गरे ।

यहाँका बासिन्दाले असारको तेस्रो सातासम्म पानी नपरेपछि रोपाईँ गर्न नपाएको भन्दै भ्यागुताको बिहे गरेका हुन् । भ्यागुताको बिहे गरिदिएमा पानी पर्ने नेपाली समाजको पुख्र्यौली मान्यता छ । यो बर्ष मनसुन ढिलो भएका कारण कृषकहरु निराश भईरहेको अवस्था छ । तर, यसको ठीक बिपरीत तर्क गर्छन् इटहरी ४ का बासिन्दा । यहाँका बासिन्दा पानी नपरेर निराश भन्दा पानी नपर्दा हर्षित देखिन्छन् ।

२०७४ श्रावण २७ गते राती आएको बाढीले इटहरीका सयौँ घरपरिवार बिस्थापित भए । इटहरी ४ गैरीगाउँमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना अझै बेपत्ता रहेका छन् । इटहरी वडा नं. ४ गैरीगाउँका एकैघरका रामकुमार राई, आशा राई र निमेष राईलाई बाढीले बगायो । यीमध्ये आशाको शव भेटियो । रामकुमार र निमेषको अझै खोजखबर छैन । उनीहरुकहाँ पाहुना गएकी सानुमाया राईं सोही बाढीमा परी छ घण्टा बगेर बच्न सफल भइन् । सानुलाई बाढीले १० किलोमिटरभन्दा बढी बगाएपछि स्थानीयले सकुसल उद्दार गरे । उनले नयाँ पुर्नजीवन पाइन् ।

२०७४ श्रावण २७ गते राती आएको बाढीले इटहरीका सयौँ घरपरिवार बिस्थापित भए । इटहरी ४ गैरीगाउँमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए ।

यी घटना सम्झदाँ अहिले पनि आङ जिरिङ्ग हुने स्थानीय झुमा दास बताउँछिन् । ‘अहिले त पानी नपर्दिए हुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘पानी परेपनि बाढी चैँ नआएजस्तो लाग्छ ।’ उनका अनुसार उक्त घटनाले अाँफूहरु पीडित भएकाले पानी नपरे हुने बताउँछिन् । ‘बाढी आउँदा गा¥हो हुन्छ, पानी नपरोस् भन्ने लाग्छ,’ उनले भनिन्, ‘यसको समाधान गर्ने बिकल्प त छ, तर गर्दैनन् ।’ उनले अघिल्लो बर्ष अध्याँरोका कारण पनि धेरै मानिसले ज्यान गुमाउनु परेको र अहिले भने बत्ती बनेको बताईन् । दासका अनुसार गैरीगाउँमा मात्र ४ सय परिवार रहेको छ । ‘पक्का घर हुनेलाई त्यति क्षती भएन अरुको ज्यानै पनि गयो, राज्यले हेर्दैन’ उनले सुनाईन् ।

स्थानीय अशोक राईले भने अहिले पनि पानी आउँदा आँफूहरु डराउनु पर्ने सुनाए । उनले भने, ‘अहिले पनि पानी आउँदा जागै बस्नुपर्छ, हामी त पानी नपरोस् भन्छौँ, तर अझै दुई महिना पानी पर्ने समय बाँकी छ ।’ उनले अहिलेसम्म पानी नपरेको प्रति आँफूहरु हर्षित भएको सुनाउँदै भने, ‘स्थानीय सरकारले केही गर्दैन, दीर्घकालीन समाधान नभएका कारण हामीहरु चिन्तित छौँ ।’ उनले पानी आउन साउन र भदौ महिना बाँकी नै भएका कारण आँफूहरुले दुई महिना जागै बस्नुपर्ने बताए ।

स्थानीय रामबती शाहले भने अलिक भिन्न तर्क गरिन् । उनले भनिन्, ‘बाढी आउँदा डर लाग्छ, पहिलाकै ठाउँमा पुग्छु । खोलामा बसेको छु, आफ्नै गल्ती छ, कसलाई समस्या सुनाउँनु ?’ उनले आँफूलाई समस्या भएको भएपनि सुनाउने ठाउँ नभएकोप्रति गुनासो गरिन् । ‘बाढी आउँदा इटहरी बजारतिरै गएर बस्न बाध्य भईन्छ,’ उनले भनिन्, ‘अहिले पानी नपर्दा त राम्रै छ, तर बजारमा गएर बस्ने ठाउँ हुँदैन, हामीहरुको गुनासो सुन्ने कुनै ठाउँ छैन ।’ उनले बाढी रोक्ने कुनै ठोस पहल नभएकोप्रति चिन्ता प्रकट गरिन् । ‘केही सुबिस्था छैन,’ उनी भन्छिन्, ‘बाढी आउँदा डर हुन्छ, जागेर बस्नुपर्छ ।’
इटहरीका चारवटा वडाका अधिकतर मानिसहरु जनप्रतिनिधिले सोचे अनुसार बाढी पीडितका निम्ति फिटिक्कै काम नगरेको गुनासो गर्छन् ।

जसले गर्दा बाढी पीडित बढी नै पिरोलिएका हुन् । इटहरी ३ र ४ भएर बग्ने बुढीखोलाको किनारमा बस्दै आएकी रुना साह पनि बाढीले पीडित बनिन् । तर, अन्य निकायले केही सहयोग गरेपनि सरकारी निकायबाट घोषणा गरिए अनुसारको राहत नपाएको उनी गुनासो गर्छिन् । ‘बर्खाको बेला बस्ने धर्मशाला मात्रै भएपनि धेरै सहज हुने थियो,’ उनले भनिन, ‘बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो । तर, यस विषयमा स्थानीय सरकार भने मुकदर्शक जस्तै बनेको छ ।’ यता, इटहरी ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईसँग यस बिषयमा प्रतिक्रिया लिदाँ उनले आँफूहरुले तटबन्धनको काम गरिरहेको बताए । ‘तटबन्धनको काम हुँदैछ, पहिला काम भएको थिएन,’ उनले भने, ‘अहिले हामीले व्यवस्थापनका लागि प्लानिङ गरिरहेका छौँ, बाढीपीडितको समस्याको समाधानाका लागि काम गर्नेछौँ ।’

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्