झापामा बाढीले बगाएर दुई जनाको मृत्यु


 


झापा , असार २७

अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का एक बेपत्ता भएका छन् । कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान १० बजे घरबाट हिँडेका लावतीको शव बाढीले बगाएर ल्याएको अवस्थामा स्थानीयले बेलुका साढे ५ बजेतिर फेला पारेका थिए ।

दमक नगरपालिका १० स्थित भालु खोलाले बगाएर स्थानीय ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको छ । दिउँसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा बालिका खोलामा खसेकी थिइन ।

खोलाले बगाएकी बालिकालाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल ल्याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यस्तै खोला तर्ने क्रममा हडिया खोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । अपरान्ह ४ बजेट भद्रपुर नगरपालिका ९ प्रणामीनगरस्थित हडिया खोला तर्ने क्रममा हस्दालाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनको खोजी कार्य जारी राखेको श्रेष्ठले बताए ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्