सरकारलाई झुकाएर कर्णाली प्रदेशका सांसदले लिए १५ करोड बजेट


 


काठमाडौं । संघिय बजेटमा अर्थमन्त्री डा युवराज खतिवडाले संघिय सांसदलाई ६ करोड रकम दिने घोषणा गरेपछि चौतर्फी विरोध भएको थियो । तर देशकै गरीव प्रदेश कर्णालीमा भने प्रति सांसद १५ करोड रकम वितरण गरिएको छ ।

कर्णालीका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बजेटमा प्रति सांसद २ करोड रकम दिने ब्यवस्था गरेका थिए । तर नेकपाका सांसदहरुले मोर्चाबन्दी नै गरेर आफुखुसी खर्च गर्ने बजेट १५ करोड पुरयाएका छन् । अघिल्लो बर्षको बजेटमा ५ करोड दिइएको थियो । सांसदलाई दिएको बजेटमा आधाभन्दा बढी भ्रष्टाचार भएको छ ।

कर्णाली सरकारले ल्याएको बजेटमा २ करोड दिने ब्यवस्था गरिएको थियो । नेकपा सांसदहरुले १५ करोड रकम नदिए बजेट नै पारित नगर्ने भन्दै मोर्चाबन्दी कसेका थिए । वर्तमान महेन्द्रबहादुर शाहीको सरकारलाई अप्ठेरोमा पार्न नेकपाका सांसदहरुले सरकारलाई झुकाएका छन् । मुख्यमन्त्री कार्यालय अन्र्तगत रहेको बजेटबाट सांसदलाई बजेट छुट्याइएको छ । प्रतिसांसद १५करोड रकम वितरण गरेपछि कर्णाली सरकारको बजेट आइतबार पारित भएको छ ।

सत्तापक्ष सांसदको मोर्चाबन्दीपछि कर्णाली प्रदेश सरकारले सांसदसँग पाँच बुँदे सहमति गरेको थियो । पाँच बुँदे सहमतिलाई नै बजेटमा संशोधन गरियो । जनता सडकका नाममा १० करोड र पूर्वाधार विकास कार्यक्रमका नाममा ५ करोड रकम दिएपछि सांसदहरुले बजेट पारित गरेका छन् । सरकारलाई बाध्य बनाएर सासदहरुले १५ करोड लिएका छन् । तर उनीहरुले खर्च गर्ने विधि भने अझै बनाइएको छैन । विधि र अनुगमन विना खर्च गर्ने रकममा पारदर्शी नहुँने भन्दै सर्वत्र विरोध हुन थालेको छ ।

सत्ता पक्ष सांसदहरुको गैरकानुनी मोर्चाबन्दीमा प्रतिपक्ष सांसदहरुले पनि मौन समर्थन गरेका छन् । बजेटमा पाँच बुँदे संशोधन गरेर पारित गर्दा उनीहरु मौन बसे ।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्