घरघरमा डाक्टर पठाएर नोबेलले गर्यो बिरामीको निःशुल्क उपचार


 


बिराटनगर । सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । तर, अहिले मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थालेका छन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा।सुनिल शर्माले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरी घरमै डाक्टर पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईदिएका हुन् ।

छ महिना अघिबाट सुरु भएको यो अभियानबाट मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे, कानेपोखरी लगायत स्थानका करिव १० हजार बिरामीले घरमै निःशुल्क उपचार पाएका छन् । गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस भनेर ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरिएको डा. सुनिल शर्माको भनाई छ ।

अभियान अन्र्तगत शनिबार बाहेक हरेक दिन एमबीबीएस डाक्टर र नर्शको टोली बिरामीको घर–घरमा पुग्छन् । उनीहरुले सामान्य अवस्थाका बिरामीलाई टोलमा भेला गरेर उपचार गर्छन् । गम्भीर बिरामीलाई घरैमा पुगेर उपचार गर्ने गरिएको छ । घरमा उपचार सम्भव नहुँदा आफ्नै एम्बुलेन्समा नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गर्ने गरिएको अभियानमा खटिएका डा।हिमलाल भण्डारीले जानकारी दिए ।

घरघरमा पुग्ने डाक्टरको टोलीले बिरामीको रोग पहिचान, भिडियो एक्सरे, ब्लड टेष्ट, ईसीजी लगायत सेवा प्रदान गर्ने गरेको छ । अस्पतालमा प्रति बिरामी करिव ३ हजार पर्ने उक्त सेवा बिरामीले घरमा निःशुल्क पाउँछन् । गंभीर बिरामीको आर्थिक अवस्था मूल्यांकन गर्दा बिपन्न पाईएमा नोबेलमा ल्याएर पूर्ण रुपमा निःशुल्क उपचार गर्ने गरिन्छ ।

यो अभियानबाट यसरी निःशुल्क उपचार पाउँने बिरामीको संख्या करिव ५ सय पुगेको नोबेल अस्पतालले जनाएको छ । गंम्भीर बिरामीलाई थप उपचारका लागि ल्याउँन भेन्टिलेटरसहितको एम्बुलेन्स अभियानमा दैनिक खटाईएको छ । घरघरमै निःशुल्क उपचार पाउँदा बिरामीहरु पनि हर्षित छन् । घरमै निःशुल्क उपचार पाउँदा धेरै खुशी लागेको बेलबारी–४ की लिलादेवी गिरीले बताईन् ।

प्रकाशित मिति: १० श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्