बक्राहा र नुनसरी खोलाको निरीक्षण


 


उर्लाबारी, साउन १३

बक्राहा र नुनसरी खोलाले कटान गरेको उर्लाबारी मिक्लाजुङ क्षेत्रमा आइतबार निरीक्षण भएको छ । कोशी तथा बक्राहा नदी ब्यवस्थापन आयोजना प्रमुख इश्वरी प्रसाद तिवारी र प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बु (कुसल), मिक्लाजुङ गाउँपालिका अध्यक्ष देविप्रसाद आचार्य, रतुवामाई नगरपालिकाका मेयर रविन राई , वडाध्यक्षहरु सहितको टोलीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका हुन् ।

बक्राहा र नुनसरीमा आएको बाढीले स्थानीयलाई दिउँसो काम गर्न नदिने र राति सुत्न समेत नदिएका कारण आयोजना प्रमुख तिवारी र सांसद लिम्बु निरीक्षणमा आएका हुन् । उक्त टोलीले उर्लाबारी १ को मेचेडाँगी, मिक्लाजुङ ९, ६, ७ र चुलाचुली वडा नं. ६, रतुवामाई ९ र १० मा भएको कटानको बारेमा निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा प्रमुख तिवारीले बक्राहा खोला तटबन्धन ब्यवस्थापनमा पाँच करोड रुपैयाँ छुट्टिएको बताएका छन् । उनले उर्लाबारी १ को मेचेडाँगीको सुकुम्बासी टोल नजिक खोलालाई च्यानलाइज गर्ने कार्य आइतबारै देखि नै सुरु गराएका छन् भने ९ सय थान बोरा स्थानीयलाई उपलब्ध गराएका छन् ।

त्यसैगरी मिक्लाजुङ ९ र ६ मा स्टड (आग्लो) बनाउन निर्देशन दिएका छन् । त्यस्तै सोही वडाको बक्राहा पुल नजिक स्पोर लगाउन उनले निर्देशन दिएका छन् । त्यसैगरी वडा नं. ७ मा स्पोर बनाउन आइतबार देखिनै सुरु गरिएको छ । सो वडामा तीन वडा स्पोर हाल्ने र केही ठाउँमा स्पोर मर्मत गर्ने उनले जानकारी दिएका छन् ।

यसैक्रममा सासंद लिम्बुले आयोजना मार्फत छुट्टिएको पाँच करोड रुपैयाँ अपुग भएको भन्दै बक्राहा नदी नियन्त्रणका लागि ४ अर्व भए मात्र पुग्ने बताएका छन् । उनले उर्लाबारी र मिक्लाजुङका बिभिन्न ठाउँहरुमा निरीक्षण गराउँदै आयोजना प्रमुखलाई स्थानीय जनताको सारथी बनिदिन आग्रह गरेका छन् ।

सोही क्रममा सांसद, स्थानीय जनप्रतिनिधि, इन्जिनियर लगायतको टोेलीसँग स्थानीय बासिन्दाहरुले गुनासो समेत ब्यक्त गरेका छन् । उर्लाबारी १ का मानबहादुर तामाङले खोलामा भुमरी लाग्यो भने हामीलाई कति खेर लैजान्छ पत्तो छैन भन्दै ज्यान बचाइदिन आग्रह गरेका छन् । त्यसैगरी केशव कुमार मगरले घरहरु खोलाको नजिक रहेको र सुकुम्बासी बस्ती भएकाले बिशेष ध्यान पु¥याइदिनु हुन आग्रह गरेका छन् । उनले प्रत्येक घरबाट १/१ घना बाँस ल्याएर करिव १ सय घना बाँस र बोरा भरेर स्थानीयबासीले श्रमदान गर्दा खोला कटान रोक्न सम्भव नभएपछि सरकार गुहार्नु परेको बताएका छन् । बक्राहा नुनसरी खोलामा चारदिन देखि कटान लाग्दै आएको छ । स्थानीयले तीन दिन देखि स्काभेटर लगाएर रोकथामका प्रयासहरु अपनाएका छन् ।

उर्लाबारी १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्कीले यस्तो ठाउँमा बिपदको रकम लगाइदिन सांसद र इन्जिनियरलाई आग्रह गरेका छन् । उनले स्थानीय जनता रातभरी जाग्रम बस्नु पर्ने बाध्यता हटाइदिन समेत अनुरोध गरेका छन् ।  बक्राहा खोलाले डिल काट्न लागेकोले आफूहरु रातभर नसुत्ने गरेको स्थानीयले बताएका छन् ।

त्यसैगरी मिक्लाजुङ ९ र ६ को सीमानाबाट बक्राहा खोला बस्तीतर्फ बस्न लागेको छ । सो ठाउँका बुद्धिबहादुर मगरले खोला बस्तीतर्फ पस्नलागेका रोकथामको काम गरिदिन डिभिजन प्रमुख तिवारीसँग आग्रह गरेका छन् । त्यसैगरी मिक्लाजुङ ७ की फुलमाया तामाङले तीन /चार दिन भयो रातभरी सुतेका छैनौं भनी दुखेसो पोखेकी छन् । निर्माणाधिन बक्राहा पुलको छेउबाट खोला बस्तीतर्फ पस्न लागेकाले स्पोर लगाइदिन ६ नं. वडाध्यक्ष बुद्धिलाल निरौलाले अनुरोध गरेका छन् । त्यस्तै चुलाचुली ६ मा २ वटा स्पर लगाए गाउँ रहने मिक्लाजुङ ७ का जंगबीर खड्काले बताएका छन् । यसैक्रममा वडा नं. ६ का अध्यक्ष निरौलाले सानो बक्राहामा आइतबार नै ५०/६० थान जाली मार्फत तटबन्धन थालेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्