काठमाण्डौँ उपत्यकामा टिपर आतंक : एकैपटक २५ सय टिपर रिङरोडमा


 


काठमाडौं । उपत्यकावरिपरिका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामग्रीले भरिएका टिपर भित्रिन्छन् । ललितपुरको चापागाउँ, काठमाडौंको कीर्तिपुर, थानकोट, बसपार्क, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा ती टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ ।

सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन् । त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन् । जब बेलुकी ८ बज्छ त्यसपछि टिपरले सडक तताउँछ । दिनभर बस्दा आलस्य मानेका चालक धुलो उडाउँदै बतासिन्छन् ।

८ बजेपछि घर फर्कने यात्रु टिपर हुइँकिएको देख्दा किनारा लगाएर बाटो छाड्नुको विकल्प देख्दैनन् । एकैपटक पूरै सडक ढाकेर आउने टिपरले सडक कब्जा नै गर्छन् । आइतबार यसैगरी तीव्र गतिमा आएको टिपरले काठमाडौंको सिनामंगलमा भयानक दुर्घटना निम्त्यायो । कार्गो कार्यालयनजिकै अघिअघि गुडिरहेको मोटरसाइकललाई टिपरले पछाडिबाट उछिन्यो ।

अगाडिका दुईवटा मोटरसाइकल सोहोर्दै बा ३८ प २३९३ नम्बरको मोटरसाइकल सडकमा बजारियो । मोटरसाइकल नै छियाछिया हुने गरी बजारिएपछि चालक पुछाङ भोटेको घटनास्थलमै ज्यान गयो ।

उनको पछाडि बसेका झङ्डुक भोटे गम्भीर घाइते भए । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० मा उपचार भइरहेको छ । आजको नागरिक दैनिकले शिवहरि घिमिरेको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्