डिला संग्रौला भन्छिन: प्रमुख प्रतिपक्ष कमजोर भए सरकार निरंकुश हुन्छ


 


काठमांडाै भदाै १५

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको पालामा भएको भ्रष्टाचारको भण्डाफोर गर्न सबै प्रदेशमा विरोध सभा गर्नुपर्ने प्रस्ताव गरेकी छन् । पार्टीकाे केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै उनले वाइडवडी, सुनकाण्ड, चिनीकाण्ड, बालुवाटार जग्गा खरिद प्रकरण, मेलम्ची काण्ड, बुढीगण्डकी जलविद्युत परियोजनामा भएका भ्रष्टाचारको भण्डाफोर गर्नु जरुरी रहेको बताइन् ।

प्रमुख प्रतिपक्ष कमजोर हुँदा सरकार निरंकुर बन्ने हुँदा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न चुक्न नहुने उनको धारणा थियो । पार्टीले जितेको स्थानीय तहमा राम्रा काम गरेर उदाहरणीय बन्नका लागि नेतृत्वले ध्यान दिनु पर्ने उनको सुझाव थियो ।

पार्टीमा देखिएको व्यक्तिवादी चरित्र र गुटको अन्त्य गर्न सहमतिमा निर्णय गर्ने परिपार्टी अंगाल्न उनले नेतृत्वलाई सुझाव दिइन् । ६० र ४० को भागवण्डा तत्कालै अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । मधेसवादी दलको मुख्य एजेन्डा संविधान संशोधनको मागलाई कांग्रेसले अगुवाई गर्दै लोकतान्त्रिक मोर्चा बनाउनुपर्ने उनले बताइन् । ११ बुँदामा आफ्नो धारणा राखेकी उनले आगामी उपनिर्वाचनले कांग्रेको भविष्य निर्धारण गर्ने भएकाले जनमत संग्रहको रुपमा लिएर एक भएर तयारीमा जुट्नुपर्ने सुझाव दिएकी छन् ।

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्