नेकपाद्धारा गाउपालिका अध्यक्ष लाइ पार्टी निष्काशन


 


रामेछाप भदाै २३
रामेछापको लिखु तामाकोशी गाउँपालिका केही दिनदेखि चर्चामा छ।
विकास, निर्माणका काम गरेर होइन। यो गाउँपालिकामा हिजोआज सेवाग्राहीका काम प्राथमिकतामा छैनन्, यहाँको राजनीति नराम्ररी गिजोलिएको छ।

गाउँपालिका प्रमुख र उपप्रमुखसहित कर्मचारीबीच सम्बन्ध सुमधुर छैन। यतिसम्म की प्रशासकीय अधिकृत टकबहादुर चौलागाईं गाउँपालिका नगएको लामो समय भइसक्यो। निमित्त प्रशासकीय अधिकृतको भरमा गाउँपालिका छ।

गाउँपालिकामा अध्यक्ष गोविन्दबहादुर खड्कालाई हटाउनुमा दुई वर्षदेखिका घटना जोडिएका छन्। अध्यक्ष खड्का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य हुन्। २०७४ सालको स्थानीय चुनावअघि राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर खड्का तत्कालीन एमालेमा प्रवेश गरेका थिए। उनको लोकप्रियता देखेर एमाले नेतृत्वले उनलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो।

सुरूदेखि उपाध्यक्षलगायत अन्य वडाध्यक्ष र पार्टीसँग समन्वय नै नगरी काम गरेको आरोप लागेका खड्का साउन तेस्रो साता राष्ट्रिय रूपमा समाचारका पात्र बनेका थिए।

खड्काले आफूसँग दुई करोड रुपैयाँ फिरौती मागेको र नदिए छोरी अपहरण गर्ने धम्की गुण्डाहरूबाट आएको भन्दै प्रहरी गुहारेका थिए। उनको अनुरोधपछि प्रहरीले काठमाडौंको स्वयम्भुबाट गोली प्रहार गरी दुई युवालाई नियन्त्रणमा लिएको छ।

साउन २४ गते नियन्त्रणमा लिइएका लोप्साङ भन्ने मिलन लामा र अमृत तामाङलाई अनुसन्धान जारी छ। उनीहरूमाथि गाउँपालिका अध्यक्ष खड्कालाई धम्क्याएर फिरौती मागेको भन्ने आरोप छ तर पुष्टि भइसकेको छैन।

घटना यतिमै सकिँदैन।

आफूसँग फिरौती माग्न गाउँपालिका उपाध्यक्ष दीपशिखा न्यौपाने र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहराले केटा प्रयोग गरेको आरोप पनि गाउँपालिका अध्यक्ष खड्काले लगाएपछि नेकपा रामेछापभित्र विवाद चर्किएको हो।

अध्यक्ष खड्काले उपाध्यक्षसहित वडाध्यक्ष बोहरालाई अदालतमा किटानी जाहेरी दिएका छन्। यसअघि खड्कालाई गाउँपालिकाभित्र विद्युतीकरण गर्दा घोटला गरेको आरोप उपाध्यक्षसहित बहुमत सदस्यहरूले लगाएका थिए।

नेकपाले निलम्बन गरेका खड्कासँग आइतबार टेलिफोनमा सम्पर्क गरिएको थियो। उनले आफूमाथि तीन जना नेताले पूर्वयोजना बनाएर फसाउन खोजेको आरोप लगाए।

‘मलाई पार्टीले होइन आनन्द पोखरेल, कैलाश ढुंगेल, श्याम भन्ने कुशल श्रेष्ठको मिलेमतोमा निलम्बन गर्नेसम्मको टिप्पणीसम्म उठेछ भन्ने बुझेको छु। नेकपा त्यति गैरजिम्मेवार पार्टी होइन। नेकपामा म पनि एउटा सिपाही हुँ। फिरौती माग्ने अपराधीहरू जोगाउन पार्टी लाग्छ जस्तो मलाई लाग्दैन। म गाउँपालिकामा लोकप्रिय भएर ममाथि विभिन्न आरोप लगाइएको छ,’ उनले भने।

फेरि पनि चुनाब जित्ने भयो भनेर केहीले आफूलाई फसाउन खोजेको उनको बुझाइ छ।

‘पार्टीले टिकट दिएन भने पनि बागी उठेर जित्ने मेरो लोकप्रियता छ। मलाई जनताको लोकप्रियता भयो भनेर तीन जनाले डिजाइन गरेका छन्। नेकपाको कुनै सिद्धान्तमा पनि यी अपराधीलाई छिपाएर अरूलाई फसाउनुपर्छ भनेर त लेखेको छैन। हेर्नुस् नेकपामा धेरै बौद्धिक मान्छे छन्, म पनि एउटा हुँ,’ खड्काले भने।

उनले प्रदेशले निलम्बन गरेर आफूलाई केही फरक नपर्ने न्याय दिने ठाउँ अन्त पनि भएको बताए।

‘केन्द्रीय कार्यलयका नेताहरूलाई भेट्छु। त्यहाँ अनुशासन आयोगमा लिखित उजुरी पनि हाल्छु,’ खड्काले भने,‘पत्रकार सम्मेलन गरेर मलाई फसाउन खोज्नेहरूको धज्जी उडाउँछु। मलाई धम्क्याएर फिरौती मागेका कुरा आमसञ्चार माध्यमबाट बाहिर ल्याउँछु। मसँग प्रमाण छन्।’

खड्काले आफूमाथि प्रदेश ३ का आन्तरिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कैलाशप्रसाद ढुंगेलले पनि फसाउन खोजेको बताएका छन्। ढुंगेल नेकपा केन्द्रीय सदस्य हुन्।

‘उहाँ (अध्यक्ष खड्का) लाई प्रदेश कमिटीले निलम्बन गरेको हो,’ मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ढुंगेलले भने।

फसाउने नियतले आफूहरूले पार्टीमा कुनै काम नगर्ने उनले बताए। ‘उहाँले के-के आरोप लगाउनुभएको छ भन्ने मलाई थाहा हुने कुरा भएन,’ उनले भने, ‘उहाँलाई निलम्बन गरेको थाहा पाएको छु। कसैलाई फसाउन म लाग्ने कुरै भएन।’

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्